जनकपुरधाम, पुस ४ गते । भारत सरकारद्वारा मधेश प्रदेशमा हालसम्म ८६ वटा महत्वपूर्ण विकास परियोजना स्वीकृत र करिब डेढ हजार एम्बुलेन्स र स्कूल बस सहयोगस्वरूप उपलब्ध गराइएको जनाएको छ।
वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ले धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुलसियाही जब्दीमा रहेको एक विद्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त जानकारी दिएका छन् ।
महावाणिज्यदूत मिनाका अनुसार भारत–नेपाल विकास साझेदारी अन्तर्गत मधेश प्रदेशमा ८६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) स्वीकृत भएकाे छ ।
तीमध्ये ६१ वटा परियोजना सम्पन्न भइसकेका छन् भने २५ वटा परियोजना कार्यान्वयनको चरणमा रहेका छन्।
उनका अनुसार स्वीकृत परियोजनामध्ये ५२ वटा शिक्षा क्षेत्रमा, ६ वटा स्वास्थ्य क्षेत्रमा, ८ वटा सडक तथा पुल निर्माणमा, १ वटा नदी तटबन्ध व्यवस्थापनमा, २ वटा सिँचाइमा, ३ वटा संस्कृति संरक्षण तथा प्रवर्द्धनमा, ५ वटा विद्युतीकरणमा तथा ९ वटा अन्य विविध क्षेत्रमा सम्बन्धित रहेका छन्।
धनुषा जिल्लामा मात्र २१ वटा परियोजना स्वीकृत गरिएका छन्। तीमध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने ८ वटा परियोजनाको निर्माण कार्य जारी रहेको महावाणिज्यदूत मिनाले जानकारी दिए ।
परियोजनाबाहेक भारत सरकारले हालसम्म नेपाललाई १ हजार ४९ वटा एम्बुलेन्स र ३ सय ८१ वटा स्कूल बस सहयोगस्वरूप उपलब्ध गराइसकेको पनि उहाँले उल्लेख गरे । तीमध्ये मधेश प्रदेशले २ सय ३२ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस प्राप्त गरेको छ। धनुषा जिल्लामा मात्र ४६ वटा एम्बुलेन्स र ११ वटा स्कूल बस प्रदान गरिएको उहाँको भनाइ छ।
महावाणिज्यदूत मिनाका अनुसार यी एम्बुलेन्स र स्कूल बसहरू स्वास्थ्य तथा शिक्षामा पहिलो प्रतिक्रिया सेवा र आधारभूत पूर्वाधारका रूपमा अत्यन्त महत्वपूर्ण छन्, जसले टाढा–दराजका समुदायसम्म स्वास्थ्य सेवा र शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुर्याइरहेका छन् ।
उहाँले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनलगायत नेपाल सरकारका प्राथमिकता क्षेत्रमा भुईँ तहबाटै पूर्वाधार विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ यी परियोजनाहरू कार्यान्वयन हुँदै आएको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !