जनकपुरधाम, साउन ५ गते । जनकपुरधामस्थित एक होटेलमा छुरा प्रहार गरी छतबाट खसालेर उनकै प्रेमिकाले हत्या गरेको छ । हत्या आरोपमा प्रेमिका पक्राउ समेत परेकी छिन् ।
प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा उनकै प्रेमिका २१ वर्षीया जुली झालाई पक्राउ गरिएको हो । झा महोत्तरीको बनौटा घर भई हाल बीबीएस अध्यापनका लागि जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन् ।
साउन ३ गते राति १०ः०२ बजे विमलेश यादव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित होटेल एसपी एण्ड गेस्ट हाउस को कोठा नं. १०२ मा प्रवेश गरेका थिए । सीसीटीभी फुटेज र मोबाइल रेकर्डको आधारमा उनी बा ४५ प ४९८६ नम्बरको मोटरसाइकलमा सवार भई अभियुक्तसँगै होटलमा प्रवेश गरेका थिए । होटलमा उनले “शनि यादव“ नाम लेखाई कोठा बुक गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सोही रात २ः५७ बजे यादव होटलको पहिलो तल्लाबाट रगताम्य अवस्थामा भुइँमा खसेको देखिन्छ । लगत्तै अभियुक्त जुली झा कुर्ता सुरुवालमा खाली खुट्टा भुइँतर्फ तल झरेर भाग्दै गरेको दृश्य सीसीटीभीमा कैद भएको थियो । सोही सिसिटीभी फुटेजको आधारमा जुली पक्राउ पनि परेकी छिन् ।
घटनापछि तत्कालै खटिएको जिरोमाइल प्रहरी टोलीले घाइते अवस्थाको यादवलाई प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएको थियो, जहाँ उपचारका क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको थियो । प्रहरी अनुसन्धानका क्रममा अभियुक्त जुली झालाई सोही दिन दिउँसो १२ः०० बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
हत्या किन गरिन् जुली ?
दुई सन्तानका पिता विमलेश जुलीसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेम सम्बन्धबारे दुवै परिवारका सदस्य जानकार रहेको एक आफन्तले बताए ।
ती आफन्तका अनुसार, ‘दुई वर्षअघि उनीहरुबीच मोबाइल फोनमा कुराकानी हुने गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी परेको थियो । त्यसपछि दुवै पक्षले आ–आफ्ना छोराछोरीको मोबाइल नम्बर परिवर्तन गर्ने र कुराकानी नगर्ने लिखित सहमति पनि भएको थियो ।’
विमलेश वैदेशिक रोजगारीका लागि विदेश गएपनि उनीहरुबीच कुराकानी जारी रह्यो । विमलेशले कमाएको केही रकम पनि जुलीलाई पठाउने गरेको ती आफन्त सुनाउँछन् । उनी भन्छन्, ‘विमलेश दुईपटक वैदेशिक रोजगारीमा जाँदा कमाएको रकम जुलीलाई पठाएको करिब २७ लाखको भौचर सुरक्षित छ ।’
दुई वर्ष अघि कतार गएका विमलेश ६ महिना अघि मात्र फर्केका थिए । उनीहरुबीच अब भेटघाट कुराकानी नगर्ने भनेर पनि कुरा चलेको थियो । जुली आफैंले छुट्टिने कुरा गरेकी थिइन् । तर यस विषयमा उनीहरुबीच खटपट भयो ।
‘जुलीले छुट्टिने कुरा गर्दा विमलेशले मैले तिम्रो लागि खर्च गरेको र विदेशबाट पठाएको रकम फिर्ता गर्न भने । यस विषयलाई लिएर उनीहरुबीच खटपट पनि भयो,’ विमलेशका पारिवारिक स्रोतको भनाई छ ।
जुली र आफन्तसँग गरिएको सोधपुछ, घटनास्थलबाट प्राप्त प्रमाणसमेतका आधारमा जुलीमै केन्द्रित भएर अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ । विमलेशका आफन्तहरुले भने होटलको सिसिटीभी १७ सेकेण्ड बन्द भएको भन्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।
हुनत प्रहरीले जुलीलाई सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा जुली र विमलेश रिलेशनसीपमा रहेको छ । यसैबीचमा जुली विमलेशसँग छुट्टिन दूरी बनाउन चाहन्थिन । तर विमलेशले त्यो सम्बन्ध कायमै राख्न पुराना म्यासेज, फोटो र भिडियो लगायतका कुरा सार्वजनिक गर्ने धम्की दिंदै आएको थियो । यसबाट बच्न जुलीले केही नदेखिएपछि आफू आत्महत्या गरै कि उनलाई मारेर सोचेर विमलेशको हत्या गरेको हुन सक्ने अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !