जनकपुरधाम, साउन ४ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले भवनका लागि बहुप्रतीक्षित जग्गा प्राप्त गरेपछि अब भवन निर्माण हुने भएको छ ।
जनकपुरधामस्थित श्रीराम मन्दिर गुठीको बहुमूल्य जग्गा पत्रकार महासंघको नाममा प्राप्त भएपछि अब महासंघको भवन निर्माण हुने भएको छ ।
प्रदेशका राजधानी जनकपुरधमको मध्यभागमा अवस्थित यस जग्गामा अब भव्य र आधुनिक संरचना निर्माण गरिने लक्ष्यका साथ योजना तयार पार्ने महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम वन्जाराले बताएका छन् । जग्गा प्राप्तिका लागि भएको संघर्ष, दौडधूप र लगातारको समर्पणपूर्ण प्रयासले अन्ततः सार्थकता पाएको महासंघले जनाएको छ ।
सो जग्गा प्राप्तिलाई महासंघले एक ऐतिहासिक सफलता मान्दै यसमा सहयोग पु¥याउने सबैप्रति गहिरो आभार व्यक्त गरेको छ । महासंघका अध्यक्ष वन्जाराका अनुसार यस प्रक्रियामा आफ्नै समुदायभित्रका केही व्यक्तिहरूले पनि विभिन्न अवरोध खडा गर्न खोजेका थिए, तर ती प्रयासहरू असफल भएका छन् ।
उनीहरूले विरोध गरेर पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा महासंघलाई गति दिएका कारण, महासंघले तिनै विरोधीहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ । जग्गासम्बन्धी निर्णय सार्वजनिक भएपछि मधेश प्रदेश सरकारका संचार, कानून तथा गृहमन्त्री राजकुमार लेखीले केही आलोचनात्मक टिप्पणी गरेका थिए ।
भवन निर्माणका लागि आवश्यक पर्ने रकममा कञ्जुस्याइँ नगरिने प्रतिबद्धता मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले व्यक्त गरेकाले महासंघले यो विषयमा आश्वस्ति प्रकट गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !