जनकपुरधाम, पुस ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संघीय सरकारको मधेशमाथि विभेदको कारण यहाँको शैक्षिक अवस्था कमजोर भएको बताएका छन् ।
बिहीबार जनकपुरधामस्थित अक्षर विद्या मन्दिरको ११ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री सिंहले मधेशको शिक्षाका बारेमा यस्तो टिप्पणी गरेका हुन् । उनले मधेशको शिक्षा राज्यको नीतिका कारण खस्किएको आरोप लगाए ।
उनले भने, ‘संघीय सरकारले प्रदेश गठन गरिदिएको छ तर त्यसलाई कुनै अधिकार दिएको छैन, प्रदेश सरकारको न आफ्नो शासन छ न प्रशासन छ न कुनै नीति अनि यहाँ शिक्षालाई कसरी सुधार गर्न सकिन्छ ?’
उनले मधेशलाई हेर्ने दृष्टिकोण नै नराम्रो हुने गरेको बताउँदै त्यसैले पनि यहाँको शिक्षा बिग्रिँदै गएको दाबी गरे । मधेशको शिक्षामा संख्यात्मकमा भन्दा गुणात्मकतामा ध्यान दिनुपर्ने बताउँदै उनले यसअघिनै विद्यार्थी भर्नामा जोड दिइएको तर गुणस्तरमा ध्यान नदिएको टिप्पणीसमेत गरे ।
अक्षर विद्या मन्दिरका सञ्चालक पंकज जालानको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले मधेशको शिक्षामा संघीय सरकारले विभेद गर्दै आएको आरोप लगाइन् । कुनै समय मधेशकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेश नै शिक्षाको मामिलामा पछाडी पर्नु दुःखद रहेको उनले बताइन् ।
मधेशको शैक्षिक स्तर योजनाबद्ध हिसाबले धाराशायी पार्ने षडयन्त्र हुँदै आएको आरोप लगाउंदै मन्त्री शर्माले मधेशको शिक्षामा सुधार ल्याउनका लागि प्रदेश सरकारले स्थानीय सरकार तथा संघ सरकारसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अक्षर विद्या मन्दिरका सञ्चालक पंकज जालानले आफ्नो विद्यालयले विद्यार्थीहरुको चौतर्फि विकासका लागि काम गरिरहेको दाबी गरे । उनले विद्यार्थीलाई पढाई मात्र नभई नाट्यकला, नृत्यकला, योगा, कराँतेलगायतका अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउँदै आएको बताए ।
उनले अक्षर विद्या मन्दिरले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायको कक्षा पनि सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !