जनकपुरधाम, असोज १२ गते । बिहीबार रातिदेखि अविरल परेको वर्षाका कारण आएको देशभरमा बाढीपहिरोले ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ भने अन्य ७२ जना बेपत्ता रहेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ । बाढी र पहिराले अन्य ६० जना घाइते भएका छन् भने तीन हजारको उद्धार गरिएको छ ।
उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन् । अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन् । १५ जना घाइते भएका छन् ।
काठमाडौँमा ११ जनाको ज्यान गएको छ । १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ । ललितपुरमा १८ जनाको ज्यान गएको छ । ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ । उपत्यका बाहेक अन्य जिल्ला सिन्धुलीमा एक जनाको शव फेला परेको छ । धादिङमा एक जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ । मकवानपुरमा ७ जनाको मृत्यु भएको छ । दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । रुपन्देहीमा २ जना बेपत्ता छन् ।
कोसी प्रदेशमा ८ जनाको ज्यान गएको छ । पाँचथरमा ५ जना र घनकुटामा २ जनाको मृत्यु भएको हो । झापामा ३ जना र पाँचथरमा ५ जना अझै बेपत्ता छन् । महोत्तरीमा एक जना बेपत्ता भएका छन् एक बालिकाको जिवितै उद्धार गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !