जनकपुरधाम, असार ५ गते । संघ सरकारबाट सरुवा भएर आएका कर्मचारीलाई हाजिर हुन नदिई मधेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंहले संघीय सरकारको निर्देशन टेरेका छन् ।
उनले यहाँ सचिवको आवश्यकता छैन भनी मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रवाना पत्र लिई सचिव पदमा हाजिर हुन आएका सचिव डा. संजय ठाकुरलाई हाजिर हुन दिएन । हुनत यसअघि मंगलवार मन्त्रालयमा कार्यरत निमित सचिव डा. प्रमोद यादवले उनी मन्त्रालय पुग्नु अघि कार्यकक्षमा ताला लगाई दर्ताचलानी र हाजिरी रजिष्टर लिएर टाप भएका थिए । नयाँ सचिवका रुपमा हाजिर हुन आएका डा. ठाकुरसँग भेटघाट गर्न आएका स्वास्थ्यसँग आबद्ध निर्देशकहरुलाई फोनमार्फत धाकधम्की समेत दिएका थिए ।
सरुवा भएर आएका सचिवलाई हाजिर किन हुन दिएन भन्ने लोकपुकारले राखेको जिज्ञासामा मन्त्री सिंहले भने आफूसँग कुनै समन्वय नगरी संघले एकल रुपमा कर्मचारी पठाएकोमा हाजिर हुन दिएका छैनौं । देश अहिले संघीयतामा गइसकेकाले सबै निर्णय संघ सरकारको हुने जरुरी छैन । प्रदेश सरकारको पनि आफ्नो अधिकार हो ।
कानूनी व्यवस्था त प्रदेश मन्त्रालयमा सचिवस्तरका कर्मचारी संघ सरकारकै हुने रहेको छ भन्ने प्रश्नमा मन्त्री सिंहले सबै निर्णय हामी संघकै मान्ने हो भन्ने यसले संघीयता धरापमा पर्नेछ । संघीयताको मर्म र हामीले बनाएको निजामति ऐन बमोजिम हामीसँग सचिव छदैछ, यस्तो अवस्थामा दुई÷दुईवटा सचिव राख्न नमिल्ने भएकाले हामी राख्दैनौ ।
यता सचिव डा. संजय ठाकुरले भने आफू त यहाँ अलपत्र भएको छ । मन्त्रीज्यूको कुरा सुनेर र सचिव डा. प्रमोद यादवको व्यवहार देखेर झसँग के गर्ने अन्यौलमा परेको छु । उनले भने मंगलवार त मन्त्रीज्यूले कुरै गर्न मान्नु भएन, सचिवज्यू कार्यकक्षमा तालाबन्दी गरी हाजिरी र दर्ता चलानी रजिष्टरै लिएर गायब हुनु भयो ।
आज मन्त्रीज्यूसँग भेट गर्दा उहाँले यहाँ हामी कहाँ सचिव छदैंछ दुई÷दुईवटा सचिव राख्न मिल्दैन । आफूलाई त संघ सरकारले रवाना पत्र दिएर पठाएको छ के गर्ने भन्ने कुरा गर्दा मन्त्रीज्यूले यसमा हामी केही गर्न सक्दैन । सचिव कसलाई राख्ने नराख्ने त्यो प्रदेश सरकारसँग अधिकार छ सबै कुरा संघ सरकारकै मान्ने भन्ने कुनै जरुरी छैन । यहाँ आवश्यक छैन भनी लेखेर दिनुस भन्दा उनले लिखित रुपमा दिन मान्नु भएन ।
मन्त्रीज्यूसँग सचिवमा राख्नु हुन्न भने कुनै कुरा छैन यहाँ कम्तिमा मलाई जिम्मेवारी दिए नदिए जरुरी छैन कम्तिमा मलाई हाजिर गराई दिनुस पटक पटक आग्रह गर्दा उहाँले मुख्यमन्त्री कार्यालयमा जानुस नभए यहाँ अस्पतालमा डियूटीमा गर्नुस मौखिक जवाफ फर्काउनु भयो । तर लिखित रुपमा दिन मान्नु भएन । म त यहाँ आएर अलपत्र परिसकेको छु भी दुखेसो सुनाए ।
हाल सचिव रहेका डा. प्रमोद यादव प्रदेश सरकारका स्वास्थ्य मन्त्रीको निर्णयबाट निमित सचिवको रुपमा कार्यरत छन् । संशोसिधत संघीय निजामित ऐन अनुसार प्रदेशको मन्त्रालयमा सचिवस्तरका कर्मचारी संघकै रहने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार मधेश प्रदेशसहित देशका सातै प्रदेश सरकारका मन्त्रालयहरुमा संघबाटै पठाइएका सचिवहरुले काम गर्दै आएका छन् ।
सो पद रिक्त भएमा प्रदेश सरकारका मन्त्री तथा मन्त्रिपरिषदको निर्णयबाट निमित सचिव राखेर काम गर्ने तात्कालिन व्यवस्था रहेको छ । तर संघबाट रिक्त पदपूर्ति भएमा निमित स्वतः हटने व्यवस्था छ । सचिव यादव संघको व्यवस्था अनुसार १० औं तह र प्रदेशको व्यवस्था अनुसार ११ औं तहका कर्मचारी हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !