जनकपुरधाम, जेठ ६ गते । धनुषाको पत्रकार शिवेन्द्र रोहिता मृत्यु प्रकरणमा पक्राउ परेकाहरुलाई रिहा गर्न लागेको भन्दै पिडीत परिवारका आफन्त र पत्रकारहरूले प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेका छन् ।
शनिबार बिहान कारको ठक्करले पत्रकार रोहिताको मृत्यु भएको भनिएको शंकास्पद घटनाको मुद्दालाई कमजोर पार्न प्रहरीले पक्राउ परेका चार जना मध्ये कार चालकलाई नियन्त्रणमा राखि अन्य तीन जनालाई छोड्न लागेको भन्दै प्रहरी विरुद्ध तिनीहरू आइतवार दिउंसाे प्रदर्शन गरेको हो । तिनीहरुले प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रहरीले नियन्त्रणमा रहेका चार जना मध्ये चालकलाई नियन्त्रणमा लिई मुद्दा चलाउने गरी दुईजना लेबर रहेको र एक जना गाडी भाडा लिने व्यक्ति रहेकाले तिनीहरु निर्दोष रहेकाले हिरासतमा नराख्न मिल्ने भनी छोड्न लागेकाे थियाे । थाहा पाए लगतै आफन्त र पत्रकारहरुको टोली घटनामा संलग्न चारैजनालाई नियन्त्रणमा राखि सत्य तथ्य छानबीन गर्न भनी माग गर्दै प्रदर्शनमा उत्रेका थिए ।

प्रहरीले चारैजना विरुद्ध किटानी जाहेरी परे मात्र नियन्त्रणमा राखि तिनीहरुलाई अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाएपछि प्रदर्शन रोकिएको थियो । प्रहरीले किटानी जाहेरीका लागि सोमवार बिहान साढे १० बजेको समय दिएका छन् । किटानी जाहेरी प्रहरीले नलिए वा आनाकानी गरेमा थप सशक्त आन्दोलन गर्ने र त्यसको जिम्मेवार प्रहरी हुने भन्ने चेतावनी पिडीत आफन्तहरुले दिएका छन् ।
घटना शंकास्पद रहेको भन्दै पत्रकार महासंघ धनुषा शाखा र प्रदेश शाखाले समेत छानबिनको माग गरिरहँदा धनुषाका एसपी भुवनेश्वर तिवारीको निर्देशनमा पक्राउ परेकाहरुलाई छाड्न लागेको भन्दै विरोध जनाइएको हो । शनिबार विहान करिब ३ः०० बजेको समयमा जनकपुरधामको थापाचोकस्थित पत्रकार रोहिता सवार मोटरसाईकललाई मुख्यमन्त्री कार्यालयबाट पीडारीचोक तर्फ तीव्र गतिमा जाँदै गरेको कारले ठक्कर दिएपछि उनको मृत्यू भएको हो । सोही घटनामा जयनाथ यादव घाईते भएका छन् ।
गत बैशाख ११ गते विहान करिब ३ः४७ बजेको समयमा जनकपुरधाम ढल्केवर सडकखण्डमा न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । सो घटना सेलाउन नपाउँदै पुनः एक सँचारकर्मीसँगको घटनापछि शंका बढेको हो । विनय यादवको घटनालाई पनि प्रहरीले दुर्घटनामा परिणत गर्न खोज्दा चौतर्फी दबावपछि मुद्दा दर्ता गरी छानबीन अघि बढाएको छ । सो घटनामा लक्ष्मीनारायण यादव नियन्त्रणमा रहेका छन् भने एकजना फरार रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !