जनकपुराम, फागुन ११ गते । मधेश प्रदेशका ८ जिल्लामा यही फागुन १३ गतेदेखि लगाइने दादुरा रुवेला खोपकाे तयारी पूरा भएकाे जनाइएकाे छ ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालय र डब्बुएचओद्वारा शुक्रवार जनकपुरधाममा सञ्चार अन्तरक्रिया कार्यक्रम आयोजना गरी खोप अभियानको तयारी पूरा भएको जनाएको छ । फागुन १३ गतेबाट दादुरा रुवेला विरुद्धको खोप लगाउने अभियान शुरु भएर चैत्र ७ गतेसम्म चल्ने निमित्त निर्देशक श्रवण नायकले जानकारी दिए ।
प्रदेशका ९ महिनादेखि १५ वर्षसम्मको १९ लाख ४७ हजार १४२ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने लक्ष्य लिइएको छ । सो अभियानका लागि मधेश प्रदेशका १ सय ३६ पालिकाका लागि ११ हजार ३ सय ४६ खोप केन्द्र निर्माणका साथै बालबालिकालाई खोप लगाउन १५ हजार ५ सय ८४ खोप कार्यकर्ता परिचालन गरिएको निमित्त निर्देशक नायकले बताए ।
यसैगरि १५ हजार ५ सय ८४ को सङ्ख्यामा स्वयं सेवक परिचालन गरिने तयारी रहेको जानकारी दिदै नायकले स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको २ लाख ५१ हजार ७ सय ९८ भाइल नेपाल सरकारकार मार्फत प्राप्त भएको जानकारी दिए । दादुरा रुवेला कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल सरकारबाट जिल्लास्तरमा कार्यक्रम गर्नका लागि ६ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्नका लागि २ लाख १३ हजार ९ सय रकम प्राप्त भएको निर्देशनालयले जनाएकाे छ ।
दादुरा रुवेलाको खोप लगाउन सबै स्वास्थ्य संस्था, वडा कार्यालयका अतिरिक्त विद्यालयमा खाेप केन्द्रहरू स्थापना गरिएको छ । मधेश प्रदेशका जिल्लाहरू दादुरा रुवेलाको दृष्टिकोणले पनि उच्च जोखिममा पर्ने जिल्ला भएकाले खोप कार्यक्रमलाई सफल बनाउन निर्देशनालयले आग्रह गरेको छ ।
नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्य लिएर ९ महिनादेखि १५ वर्षका बालबालिकाहरूलाई खोप दिने कार्यक्रम अभियानको रुपमा गरिरहेको छ ।
मधेश प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका तथा १ हजार २ सय ७१ वडा कार्यालयहरूमा एक साथ दादुरा रुवेला विरुद्धको खोप दिने कार्यक्रम रहेको छ । देशभरिमा २६ प्रतिशत बालबालिका दादुरा रुबेलाको खोप लगाएका छैनन् भने खोप बारे जानकारी नभएका ३० प्रतिशत व्यक्ति रहेकाे तथ्यांक छ ।
पछिल्लो एक वर्षको अवधिमा प्रदेशका धनुषा महोत्तरी र सर्लाहीमा दादुरा रुबेला प्रभावित फेला परेको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले भने देशका १९ जिल्ला प्रभावित मध्ये तीन जिल्ला मधेश प्रदेशकै रहेको छ । उनका अनुसार सबभन्दा बढी महोत्तरीमा १२३, धनुषामा ५४ र सर्लाहीमा ८७ जना दादुरा रुबेलाको बिरामी फेला परेको छ । २०७९ मंसिर चालु आ.व.को पुस १५ सम्ममा देशभरमा १ हजार ३४९ प्रभावित भेटिएकोमा एकजनाको मृत्यु समेत भइसकेको छ ।
नियमित खोप लिइसकेका र पछिल्लो पटक खोप समेत लिइसकेका ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाले नजिकको खोप केन्द्र वा विद्यालयमा गई यस पटक दादुरा रुबेलाको खोप लिनुपर्ने झाले आग्रह गरे । उनले भने एक पटक लिइसकेपछि सोही दिन अर्को खोप केन्द्रमा नलिनुपर्ने हो । तर केही दिन पहिला लिइसकेकाले पनि यो खोप लिएमा केही नाकारात्मक असर गर्नेछैन । खोप अभियान सफल पार्न जनप्रतिनिधिदेखि शिक्षकसम्म अन्तरक्रिया गरिएको जानकारी समेत उनले दिए ।
यसैबीच सरकारले चालु आर्थिक वर्षभित्र मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएपनि मधेश प्रदेश बाधक रहेको आरोप लगाइएको छ । मधेश प्रदेशका धनुषा, महोत्तरी, रौतहट र पर्सा चारवटा जिल्ला पूर्ण खोप घोषणा हुन नसक्दा मुलुक पूर्ण खोप घोषणा हुन नसकेको बताए ।
मधेश प्रदेशका धनुषाका ७, महोत्तरीका २, रौतहटका ९ वटा पालिका पूर्ण खोप घोषणा हुन बांकी रहेको छ भने पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणाको तयारीमा रहेको निमित प्रमुख नायकले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !