जनकपुरधाम, फागुन ४ गते । धनुषामा फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप कार्यक्रम धनुषामा शुरु हुने भएको छ ।
शुक्रवार संचारकर्मीसँगको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । स्वास्थ्य कार्यालय धनुषाका अनुसार दुई चरणमा खोप कार्यक्रम संचालन हुनेछ ।
पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप दिइने छ। फागुन १३ गतेदेखि ३० गतेसम्ममा खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिएका छन् ।
पहिलो चरणमा फागुन १३ देखि २१ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहनिया गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मिनीया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बालबालिकालाई दादुरा–रुबेला खोप दिइने छ ।
त्यस्तै, दोस्रो चरणमा फागुन २२ गतेदेखि ३० गतेसम्म धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला विहारी नगरपालिकामा खोप दिइने खोप प्रमुख यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार ९ महिनादेखि ५ वर्षमुनिका ६७ हजार २४४ जनालाई खोप दिइने लक्ष्य छ भने ५ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५८ हजार ७८६ जनालाई खोप दिइने लक्ष्य रहेको छ । जिल्लामा १ हजार ११२ वटा खोप केन्द्र, ८३३ वटा विद्यालयमा खोप कार्यक्रम संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यक्रमका लागि २ हजार २२४ जना स्वयंसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचालन गरिनेछ भने १७३ वटा स्वास्थ्य संस्था र आधारभूत स्वास्थ्य संस्था, ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिइने खोप प्रमुख यादवले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !