जनकपुरधाम, ६ पुस । धनुषाको हँसपुर नगरपालिका ५ सुगा निकासमा प्रहरीको कुटाईबाट एकको मृत्यु भएको छ भने गोली लागेर दुई जना घाइते भएको छ ।
ईलाका प्रहरी कार्यालयमा एक थुनुवाको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रदर्शन गर्दा दोहरो झडप भएको थियो । झडपकै क्रममा प्रहरीको गोली लागेर स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षिय मतलुब अन्सारी घाइते भएका हुन् । घाइते मध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भई रहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौँ रेफर गरिएको छ ।
स्थानिय दिपनारायण मण्डल भन्ने दिपालाई शंकर ठाकुर भन्ने आफ्ना नातेदारसँग झगडा गरेको रिसमा ईलाका प्रहरी कार्यालयका सई तुलानन्द ठाकुरले थुनामा राखेर बेस्सरी कुटपिट गर्दा उनको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।
दिपा र शंकरबीच परिवारिक सामान्य विवाद हुँदा सो टोलका ठाकुरहरुले कुटपिट गर्दा घटना स्थलमा पुगेका ईप्रकाका प्रहरी सई तुलानन्दको निर्देशनमा उल्टै दिपालाई नै ल्याएर थुन दिए । थुनामा राखेर क्रूरतापूर्वक दिपालाई सई तुलानन्दले कुटपिट गर्दा उनको संवेदनशील अंगमा चोट लागेर मृत्यु हुन गयो ।
प्रहरी कुटाईबाट दिपाको मृत्यु भएको भन्ने खबर बाहिरिएपछि आक्रोशित स्थानीय एकाबिहानै ईप्रका अगाडि प्रदर्शन गर्दै घेराउ गर्न खोजेपछि अवस्था नियन्त्रण लिन प्रहरीले फायर गरेको गोली लागेर अन्सारी र मण्डल घाइते हुन गएको जनाइएको छ । घटना बारे सो धनुषा एक नम्बर क्षेत्रका संघीय सांसद दिपक कार्कीले घटना निन्दनीय रहेको बताउँदै घटनाको निश्पक्ष छानविन गरेर घाइतेहरुको उपचार राज्य पक्षले गर्नुपर्ने माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाका मुख्य आरोपी शंकर ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जनाइएको छ । जिप्रका अनुसार आक्रोशित स्थानीयको भीड़ले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भिड़ले प्रहरीऊपर आक्रमण गर्न खोजेको र झडपको क्रममा स्थानीयले ज २ उ ५६२६ र प्रदेश २—०२—००२ प ९८४७ नम्बरको दुईवटा प्रहरीको निजी मोटरसाइकलमा समेत आगलागी गरी क्षति पुरयाएका छन् । हाल सो क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !