जनकपुरधाम, कात्तिक २५ गते । यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको छ । हनुमान जयन्ती अन्य वर्ष झैँ साधु सन्त तथा भक्तजन भगवान हनुमानको पूजा तथा अराधना गरी हनुमान जयन्ती मनाएका छन् ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तनसहितका सांस्कृतिक कार्यक्रम र साधुसन्तहरुलाई भण्डारा लगायतको कार्यक्रमको आयोजना गरेको छ । यस अघि परिषदले रेल्वे स्टेशनबाट हनुमान मन्दिरबाट शोभा यात्रा समेत निकालेका थिए । हिन्दु सम्राट समेत सहभागी भएको सो शोभा यात्रा जानकी मन्दिर, संकटमोचन लगायतका विभिन्न मठ मन्दिर हुँदै नगर परिक्रमा गरेको थियो ।
परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १३ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ । भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ । हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ । त्यसैले मंगलबार र शनिबार हनुमान व्रत गर्नेहरुको संख्या पनि धेरै रहेको छ ।
चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।
हनुमान पुजाको महत्व
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिसाची शक्तिबाट, राक्षसी शक्तिको प्रकोपबाट मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूको रहेको छ ।
हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन । विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि हनुमानको पूजा गरिन्छ । हनुमानलाई भक्तियोगका लागि महत्त्वपूर्ण मानिन्छ । उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्यता प्राप्त गरेका थिए ।
वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए । साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !