सुभाष कर्ण
जनकपुरधाम, ४ कात्तिक । लक्ष्य बिनाको कुनैपनि मानिसको जीवन व्यर्थ हुन्छ भन्ने अठोट लिएर इन्जिनीयरको सपना बोकेर दृढ आत्मविश्वासका साथ पढाईमा जुटेका छन हरवाचरवा दलित परिवारका रविकुमार महरा ।
धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ गौरदाहा निवासी विन्दे महराको ११ वर्षिय छोरा रविकुमार महरा इन्जिनीयर बनेर आफ्नो समुदायको नाम रौशन सँगै बुवाको सपना पुरा गर्ने आत्मविश्वास सहित दिनरात मेहनत गरेर पढिरहेका छन् । गाउँकै श्री आधारभूत राष्ट्रिय प्राथमिक विद्यालयका कक्षा ५ मा अध्ययनरत रवि हरवा चरवा परिवारमा जन्मेका रवि आमाबुवालाई गरीबी जीवनबाट उन्मुक्ति दिलाउन इन्जिनीयर बन्ने सपना बोकेका छन् ।
रविका बुवा विन्दे घरपरिवार चलाउन र छोराको पढाई जोहो गर्न गाउँकै गिरहतको खेतमा मजदूरी गर्दै आएका छन् । गिरहत कहाँ काम नभएको खण्डमा अन्य ठाउँमा घुमेर समेत मजदूरी गर्दै आएका छन् । आमा चन्द्रकला देवी महरा घरपरिवारको काम गर्नुका साथै श्रीमान विन्देलाई टेवा पुरयाउन गाउँमै रहेको अमन पापड उद्योगमा पापर बेल्ने काम गर्दै आएकी छिन् । उनी ती उद्योगमा नगई घरमा कच्चा पदार्थ लगेर पापर बेल्ने गरेकी छिन । एक गरीब दलित परिवारका छोरा इन्जिनीयर बन्न सक्ने कुरा उनलाई असमान्य लागेपनि मेहनतले सामान्य बनाएर दृढ संकल्प सहित पढाईका साथै समय बचाएर बुवालाई मजदूरी र आमालाई पापर बेल्नमा सहयोग पुरयाउंदै आएको छ । रवि भन्छन ‘बुवाको मजदूरीले घर चलाउन गाह्रो भएपछि आमा समेत खेतमा मजदूरी गर्न जान्छिन र बांचेको समयमा पापड बेल्ने काम गर्छिन ।
सानो फुसको झोपरीमा आमा बुवासँगै भाईबहिनी सहित बस्दै आएका छन् । कठ्याङद्रो चिसो छल्न न्यानो कपडाको आभाव समेत खेप्नु परिरहेपनि पढाईलाई निरन्तरता दिएका छन । आफ्नो सपना फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) ले पुरा गर्ने भन्ने विश्वास उनको रहेको छ । विद्यालयको क्लासअघि र क्लास सकेपछि बिहान बेलुका सिआईसीद्वारा हरवाचरवा दलित परिवारका बच्चाका लागि सञ्चालित ट्विशन कक्षामा विद्यालयको होमवर्क र अतिरिक्त शिक्षाका लागि क्लास गर्न जान्छन । उनी भन्छन घरमा पढेका लेखेका कोही छैनन् स्कूलको होमवर्क र अतिरिक्त पढाईका लागि यो ट्विशन क्लास मेरो पढाईको लागि सहयोगी मात्र नभई संजिवनी झै काम गरिरहेको छ ।

हामी रिपोर्टिंगका लागि बिहान करीब साढे ७ बजेतिर उनको ट्विशन कक्षामा पुग्दा उनी कठ्याङग्रो चिसोमा मात्र एउटा भेष्ट मात्र लगाएर गाउँकै सामुदायिक भवनमा सञ्चालित ट्विशन कक्षामा भेटाए । उनी बिहानै उठेर साढे ६ बजे सो ट्विशन कक्षामा जान्छन । त्यहाँ विद्यालयको होमवर्क गर्नुका साथै किताबकै एक्स्ट्रा पढाई गर्छन । त्यसपछि साढे ८ बजे घर आएर नुहाई धुवाई खान खाएर १० बजे विद्यालय जान्छन र त्यहाँबाट आएलगतै आमासंगै पापड बेल्ने र बिहान वा शनिवारका दिन बुवा सँगै खेतमा मजदूरी गर्न जान्छन । विद्यालय र ट्विशन कक्षा बाहेक बेलुका घरमा किताब लिएर पढन बस्छन । यी कार्य उनको दैनिक दिनचर्या नै बनिसकेको छ । कलिलो उमेर छंदा खेलकूद रहर भएपनि इन्जिनीयर बन्ने सपना र आमाबुवाको देखेका गरीबीले उनलाई रोकेर पढनतर्फ प्रेरित बनाउंछ ।
सिआईसीले उनलाई पढाईमा सहयोग गर्न कापी, पेन्सिल, ब्याग र स्कूल ड्रेसका साथै निशुल्क ट्विशन दिने गरेका छन । उनी भन्छन सिआईसीले आफूलाई पढाईमा सहयोग नगरेको भए मूर्ख बनेर नै बस्थे वा बुवा जस्तै गिरहत कहाँ मजदूरी गर्नुपथ्र्यो । विद्यालयको पढाईले मात्रै नपुगेर सिआईसीको ट्विशन कक्षाले सहयोग पुरयाएपछि आफूमा पढने इच्छाशक्ति बढाएको छ । सिआईसीले त्यहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निशुल्क ट्विशनका साथै शैक्षिक सामाग्री र छात्रवृति दिदैं आएको ट्विशनकी शिक्षिका रेखा मण्डल बताउंछिन ।
गाउँका सो उमेरका अधिकांश बालबालिका छाक टार्न बुवाआमासँगै काम गर्ने वा शहर बजारमा घरमा मजदूरी गर्ने गरेको छन । रविले पनि आमासँगै मजदूरी गर्छन तर पढाईमा कुनै समस्या आउन दिएको छैन । उनले कुरा गर्दै भने म सानै छदाँ गरीबको पनि बालबच्चा पढछन भन्ने विश्वास थिएन । तर गाउँमा सिआईसीले निशुल्क टिउसन कक्षा संचालन र छात्रवृतिमा कापी, पेन्सिल, डटपेन, ड्रेस, स्कूल ब्याग लगायतका सहयोगी सामाग्री दिंदा विश्वास भयो यदि जीवनमा कोही सहयोगी भयो भने गरीबका बालबच्चा पनि पढन सक्छभन्ने आत्मविश्वास जगाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !