जनकपुरधाम, असार २९ गते । जनकपुरधाम स्थित रामजानकी मन्दिर सौन्दर्यकरणको क्रममा मुख्यमन्त्री कार्यालयद्वारा बिछाइएकाे मार्बलमा भ्रष्टाचार भएको छ ।
महालेखा परिक्षकद्वारा मधेश प्रदेशको सार्वजनिक गरिएको चौथो वार्षिक प्रतिवेदनमा जानकी मन्दिर प्रांगणमा मापदण्ड विपरितका गुणस्तरहीन मार्बल प्रयोग भ्रष्टाचार गरिएकाे उल्लेख छ ।
मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछाउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रगंको मार्बल मात्र प्रयोगको भेरिएसन गर्न सुझाव अनुसार मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति पनि भएको थियो । तर त्यसको सट्टा कम मूल्यका रंगीन मार्बलहरु प्रयोग भ्रष्टाचार गरिएकाे भनिएको छ ।
रंगीन मार्बल रु. ४ हजार र सेतो मार्बल ५ हजार ३ सय प्रति वर्गमीटरका दरले खरीद सम्झौता भएको थियो । शुरुको सम्झौतामा सेतो मार्बल १९४५.०८ वर्ग मीटर रहेकोमा तेश्रो बिलसम्म ६ हजार ५७६ वर्गमीटर देखाएर ३ करोड ४८ लाख ५७ हजार रुपैया भुक्तानी गरिएको छ ।
जसमा अधिकांश गुणस्तरहीन रंगीन मार्बल प्रयोग गरिएको ठहर गर्दै सेतोको ठाउंमा प्रयोग भएका रंगीन मार्बलको मूल्य घटाउंदा सम्झौता भन्दा ६० लाख २१ हजार रुपैया बढी भुक्तानी गरिएको प्रतिवेदनमा भनिएको छ ।
सो प्रतिवेदनमा मापदण्ड विपरित रंगीन मार्बल प्रयोग गरिएको र गुणस्तरहीन मार्बल भएको कारण ठाउं ठाउँमा चर्किन थालेकोले प्राविधिकबाट रंग यकिन गरी सम्झौता अनुसारको गुणस्तरयुक्त मार्बल प्रयोग गरेर कार्य सम्पन्न सुझाव दिइएको छ ।
राम जानकी मन्दिर सौन्दर्यकरण अन्तरगत एक वर्षमा मरम्मत सम्भार सम्पन्न गर्ने गर्ने २०७५ मंसिर १७ गते ६ करोड ७५ लाख ४६ हजार रुपैयामा निर्माण व्यवसायी सँग सम्झौता भएको थियो । तर समयमा काम सम्पन्न हुन नसक्दा २०७८ पाैष मसान्तसम्मको म्याद थप गरिएको छ ।
मार्बल बिछाउने कार्यमा मात्रै आ.व. २०७७/७८ सम्ममा १ करोड ४० लाख ३५ हजार र २ करोड ९० लाख ७९ हजार सहित दुई पटक गरी निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैया भुक्तानी गरिसकिएको छ ।
केही दिनअघि जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पनि साैन्दर्यकरणकाे नाममा मुख्यमन्त्री कार्यालयद्वारा विछाइएकाे टाइल्स मार्बलमा भ्रष्टाचार भएकाे दाबी गरेका थिए । उनले आफुसंग कुनै सुझाव सल्लाह नै नलिई पदीय आडमा मुख्यमन्त्रीले साैन्दर्यकरण गरेकाे आराेप लगाएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !