जनकपुरधाम, असार १० गते । मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रवार आयोजित आठौ नगर सभामा जनकपुरधाम उपमहानगरपालिका उपनगरप्रमुख किशोरी साहले आगामी आर्थिक वर्षका लागि अनुमानिट बजेट प्रस्तुत गरेका छन ।
उपमहानगरले चालु तर्फ ५९.४४ प्रतिशत अर्थात एक अर्ब ७ करोड ४१ लाख २७ हजार रुपैयाँ र पुँजीगत तर्फ ४०.५६ प्रतिशत अर्थात ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
अन्य वर्षको तुलनामा यस वर्षको बजेट विषयगत शिर्षक अनुसार नभई समिति अनुसार विनियोजन गरिएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न ५ वटा समिति बनाएर आर्थिक कार्य अघि बढाउने कुरा प्रस्तुत बजेट पुस्तिकाले देखिन्छ ।
सो बजेट पुस्तिका अनुसार आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पुर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापन विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रुपैया छुटयाइएको छ ।
उल्लेखित बजेट आन्तरिक र बाह्य श्रोतबाट व्यवस्थापन गर्नेछ । उपमहानगरपालिकाले आन्तरिक राजश्व, राजश्व बाँडफाँड, प्रदेश सरकार राजश्व बाँडफाँड, जनसहभागिता र कोषमा रहेको रकम सहित ८० करोड एक लाख ३८ हजार रुपैया आन्तरिक श्रोत सुनिश्चित गरेको छ । त्यस्तै बाह्य श्रोत नेपाल सरकारबाट प्राप्त सशर्त र समानीकरण अनुदानबाट ९४ करोड ७४ लाख र प्रदेश सरकारबाट सशर्त, सम्पुरक, समानीकरण र विशेष अनुदान सहित राजश्व बाँडफाँडबाट ४ करोड ९६ लाख ६ हजार प्राप्त हुने श्रोत बजेटका लागि सुनिश्चित गरेको छ ।
फोहोर मैला र पर्यटनलाई प्राथमिकता
बजेट वक्तव्य अघि बजेटको कार्यक्रम कार्यान्वयनका लागि नगरप्रमुख मनोज साहले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रम समेत प्रस्तु्त गरेका छन ।
फोहोरमैलाको प्रभावकारी व्यवस्थापन, पर्यटकीय पुर्वाधार तथा भाषा संस्कृतिको विकास, शैक्षिक क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण तथा ग्रामीण क्षेत्रहरुमा पुर्वाधार विकासलाई उपमहानगरले निती तथा कार्यक्रममा प्राथमिकतामा राखेका छन ।
फोहोरमैलाको व्यवस्थापनका लागि एक वर्षभित्रै एक सेनिटरी ल्यान्डफिल साइटको स्थापना, नगरको विभिन्न स्थानमा फोहोर संकलन केन्द्र राखिने र ती फोहोरमैला व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी नितिलाई अवलम्बन गरिनेछ ।
पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवद्र्धनका लागि जनकपुरधामको धार्मिक तथा सांस्कृतिक धरोहरहरुको पौराणिकता, धार्मिकता र ऐतिहासिकताको संरक्षण गर्दै अध्ययन तथा अनुसधान गरेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म प्रचार प्रसार गर्न पर्यटन केन्द्रलाई थप सशक्त बनाइनुका साथै एक वडा एक पोखरीको धारणा अवलम्बन गर्दै प्रत्येक वडामा एउटा पोखरीको सरसफाई गरी सौन्दर्यकरण गरिने निती तथा कार्यक्रममा भनिएको छ ।
यसका साथै निती तथा कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद, कृषि निती, रोजगारी सिर्जना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पुर्वाधार तथा शहरीकरण सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन, सूचना संचार, प्रविधि प्रयोग तथा डिजिटल प्रणालीको प्रवद्र्धन लगायतका कार्यक्रमहरु समेत समेटिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !