जनकपुरधाम, असार ५ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नागरिकता समस्या संसदीय प्रक्रियाबाट समाधान गर्न मांग गर्दै मधेश प्रदेश सभालाई ज्ञापन पत्र बुझाएका छन । आइतवार प्रदेश सभाका सचिव रञ्जित यादवलाई तमलोपाका केन्द्र तथा जिल्ला स्तरका नेताहरूले ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा नेपालको संविधानको भाग २ को धारा १०, ११, १२, १३, १४ र १५ मा नागरिकता सम्बन्धी व्यवस्थाहरू गरिएको र नागरिकता ऐन, २०६३ को कतिपय प्रावधानमा संशोधन गर्नु पर्ने देखिएकोलें संसदीय प्रक्रियाबाट तत्काल नागरिकता विधेयक पारित वा संशोधनबाट समस्या समस्या समाधान गर्न माग गरिएको छ ।
संविधान बमोजिमको संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्ष भित्र वर्तमान संविधानमा भएका प्रावधानहरू सहजतापूर्वक कार्यान्वयन गर्न कानूनहरुको परिमार्जन संशोधन भइसक्नु पर्ने र नभएको अवस्थामा संविधानका प्रावधान अनुसार हुने किटानी गरिएकोले त्यस अनुसार संविधानमा उल्लेखित अनुसारका प्रावधानहरुको कार्यान्वयन हुने कुरामा विवाद हुन नसक्ने तमलोपाले ठहर गरेको छ ।
ज्ञापनपत्रमा संविधानको धारा ११ को (३) अनुसार जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान बालिग भएपछि वंशजको नाताले नागरिकता पाउनु पर्ने भनिएको तर हालसम्म पाइरहेको छैन । यसले गर्दा संविधान अनुसार नेपालको नागरिक भएपनि तिनीहरु नागरिकता आभावमा नागरिक अधिकार उपभोग गर्नबाट वञ्चित भई अनागरिकको जीवन व्यतित गर्न बाध्य छन् ।
शिक्षा, स्वास्थ, सुरक्षा, रोजगार–व्यवसाय, वसोवास, देशको सेवा लगायतका हरेक क्षेत्र तिनको निमित्त बाधित छन् । यस्तै स्थिति र दयनीय अवस्था पितृत्व र मातृत्वको ठेगान नभएको, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै वसोवास गरेको, नेपाली नागरिकसंग विवाह गरेको विदेशी महिला लगायतको पनि रहेको ज्ञापनमा उल्लेख छ ।
सो ज्ञापन पत्रमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा विचाराधीन रहेको र न्यायपालिका पनि गृह मन्त्रालयबाट निर्देशन जारी भएपनि रोक्का गर्ने त कहिले अध्यायदेश नै खारेज गर्ने लगायतका विभेद पटक पटक ती नागरिकता विहिन नागरिकसंग गर्दै आएको भनिएको छ ।
तमलोपाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई आगाडि बढाउन आवश्यक पहल गरी नागरिकता सम्बन्धी समस्याको निराकरण गर्न माग गरेको छ ।
सो ज्ञापन पत्र बुझाउनेहरुमा तमलोपाका नेताहरू उमेश कुमार मण्डल, बिभा ठाकुर, बिन्दु ठाकुर, सतिश लाल दास, हेमनाथ साह, योगेन्द्र राय, भोला झा, जयनाथ नायक, रमेश अधिकारी, रामचन्द्र साह, नारायण राउत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !