जनकपुरधाम, जेठ ३१ गते । मधेश प्रदेश सरकारले सौन्दर्यकरणको नाममा जानकी मन्दिरको स्वरुप बिगारेको आरोप लगाइएको छ ।
मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका विभिन्न भागमा तोडफोड गरी पुरातात्विक स्वरुप नै बिगारेको आरोप लगाएका हुन ।
उनले भने १ सय २५ वर्षभन्दा पहिला लगाइएको मार्बल आजसम्म पनि उस्तै तर प्रदेश सरकारले लगाएको मार्बल टाइल्स एक वर्ष नबित्दै फुटन थालेको छ । मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत जानकी मन्दिर परिसर तथा भित्र टाइल्स, मार्बल, गेट निर्माण तथा मरम्मत सहितका भएको सौन्दर्यकरण र प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत वृहत्तर क्षेत्र विकास परिषदद्वारा गरिएको लाईट जडानमा कमसल सामाग्री प्रयोग गरी भ्रष्टाचार भएको आरोप समेत लगाए ।
महन्थ दासले थप्दै भन्नु भयो विश्व सम्पदा सूचीमा सूचिकृतको प्रक्रियामा रहेको बेला सौन्दर्यकरणको नाममा गरिएको तोडफोडले अब जानकी मन्दिर नजाने सम्भावना बढेको छ ।
उहाँले ७ करोड २० लाखको लागतमा मन्दिर सौन्दर्यकरणमा लगाइएका टाइल्स मार्बल जडान कार्य पुरा नहुँदै फुटन थालेको छ भने गेट समेत निर्माण अहिलेसम्म योजना अनुरुपको गरिएको छैन । त्यस्तै प्रदेश सरकारको ११ करोड रुपैयाको बजेटमा गत वर्ष वृहतरले गरेको लाईट जडान महिनौसम्म सञ्चालन नै भएन, पछि सञ्चालन भएपनि एक डेढ महिनामै बिग्रेर थन्केको जानकारी दिए ।
उनले भने सौन्दर्यकरणको नाममा प्रदेश सरकारले भ्रष्टाचारका निम्ति मन्दिरको पुरातात्विक स्वरुप बिगारेर कमसल सामाग्री प्रयोग गरेको छ । यसले गर्दा मन्दिरको अस्तित्व नै संकटमा परेको छ ।
सौन्दर्यकरणको काम शुरुवात भएको बेला किन बोल्नु भएन भन्ने सञ्चारकर्मीको जिज्ञासामा महन्थ दासले भने यहाँ मन्दिरमा कुनै काम गर्न प्रदेश सरकारले हामीसँग सोधपुछ वा छलफल नै गर्दैनन, मनपरी रुपमा सौन्दर्यकरणको नाममा मन्दिरका पुरातत्वमा असर पर्ने गरी तोडफोड गर्दै आएका छन । हामीले विरोध गर्दा पनि कुनै पहल हुन नसकेपछि पत्रकार सम्मेलन गरेका हौं ।
उनले यसअघि संघीय सरकारबाट मन्दिरको कुनै काम हुँदा हामीसँग स्वीकृति लिने गरिन्थ्यो, दुवै पक्षको छलफल पश्चात मात्र काम अघि बढाइने गरिन्थ्यो तर अहिले प्रदेश सरकारले भ्रष्टाचार गर्न मन्दिर व्यवस्थापकलाई बेवास्ता गर्दै मनपरी रुपमा काम गर्दै आएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !