जनकपुरधाम, जेठ २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे चुनावी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएकाे छ ।
अध्यक्ष उपेन्द्र यादव आतिथ्य आयाेजित धनुषा जिल्लाको स्थानीय निर्वाचन सम्बन्धी समीक्षा बैठकमा केही नेताकाे अन्तर्घातका कारण जिल्लाका विभिन्न पालिकामा हार व्याेहर्नु परेकाे नाम किटेर आराेप लगाइएपछि नेताहरुबीच विवाद भएकाे थियाे ।

बैठकमा सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतको समूहले गरेकाे अन्तर्घातका कारण जिल्लाकाे विभिन्न पालिकामा हार व्याेहर्नु परेकाे आरोप लगाएपछि विवाद बढदै कुटाकुट भएकाे बैठकमा सहभागी एक नेताले बताए ।
उनले भने रायले आराेप लगाएपछि साधु पक्षधर व्यक्तिहरूले उनीमाथि हात हालेपछि दुवै पक्षबीच कुटाकुट भएकाे थियाे ।
रायमाथि आक्रमण भएपछि आक्रोशित बनेका उनका समर्थकहरूले यादव पक्षधरहरुलाई रामधुलाई दिएका थिए ।बैठकमा कुटाकुट हुन थालेपछि मापदण्डमा नपर्नेहरुलाई बैठक हल बाहिर निकालिएको थियो ।
ती नेताले भने अवस्था बिग्रिद्रै गएपछि केन्द्रीय अध्यक्ष यादवकाे निर्देशनमा कुटाकुट गर्नेलाई कार्यक्रममा सभाबाट बाहिर निकालिएपछि माहाैल शान्त भएकाे थियाे ।
कुटाकुटमा काेही गम्भीर घाइते नभएपनि सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोटपटक लागेको बताइएकाे छ ।
यसैबीच कुटपिट गर्नेहरूलाई पार्टीको नगर समितिबाट निष्काशन गरिसकिएको बताउँदै रायले भने, पार्टी अनुशासन र मर्यादाको सबै सीमा पार गरिएको छ ।
स्थानीय तहको चुनावमा पार्टी भित्रको असन्तुष्टिबाट भएको घातले परिणाम प्रतिकूल भएको जनाउँदै अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुसितको छलफलमा भने, पार्टीमा देखिएको असन्तुष्टि र विवादलाई न्यून गर्न केन्द्रीय सदस्यहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्छ ।
बैठकमा पार्टीलाई कमजोर बनाउन विभिन्न शक्तिहरुको चलखेल बढेको औल्याउँदै केन्द्रीय अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुलाई सतर्क भएर संगठन विस्तारमा लाग्न आग्रह गरेकाे कुरा बैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार अगामी चुनावमा मधेशको मतलाई अन्यत्र जान नदिन लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)लाई समेत विश्वासमा लिएर अगाडि बढने वातावरण बनाउन अध्यक्ष यादवले आग्रह गरेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !