जनकपुरधाम, जेठ २ गते । जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेद्वार बलराम महताे र युवा अभियन्ता सरोज मिश्रको विवाद उत्कर्षमा पुगेकाे छ।
महताेले आफ्नाे निर्वाचनलाई प्रभाव पार्न मिश्रले गलत अफवाह फैलाएकाे र मतगणनाकाे क्रममा आफ्नाे भाईलाई कुटपिट गर्नुका साथै गाली गलैज गरेकाे आराेप लगाएका छन भने मिश्रले आफ्नाे घरमा आइतबार राति महताेले आक्रमण आरोप लगाएका छन ।
जनकपुरधाममा स्थानीय तह निर्वाचनको जारी मतगणनाको क्रममा आइतबार राति मतगणना स्थलमा भएको विवादपछि सरोज मिश्रको घरमा आक्रमण हुँदा विवादले उग्ररुप लिएको थियो । सोही विवादलाई लिएर मिश्र र मेयरका उम्मेदवार बलराम महतोका समर्थकहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
महतोका समर्थक खगेन्द्र शर्माले मिश्रले मतगणना स्थलमा नगरप्रमुखका उम्मेदवार महतोका भाइ जयकिशन साह सहित केही व्यक्तिमाथी हातपात गरेपछि विवाद सुरु भएको आरोप लगाए । उनका अनुसार सोही विवादको क्रममा जयकिशन सहित २ जना व्यक्ति घाइते भएका छन् ।

शर्माले भने, ‘आफूहरुमाथी मिश्रले आक्रमण गरेपनि प्रहरीले उनलाई त्यहाँबाट भगाएपछि उनीसँग कुरा गर्नका लागि मात्रै हामी आइतबार राति उनको घरमा पुगेका थियौँ ।’
शर्माले मिश्रको घरमा पुगे लगत्तै आफूहरुमाथी ढुंगामुढा गरिएको आरोप लगाए । महताेले मिश्रकै कारण आफ्नाे निर्वाचन प्रभावित भएकाे भन्दै उनलाई अन्य उम्मेदवारले म विरूद्ध परिचालित गरेकाे आराेप लगाए ।
यता, मिश्रले मतगणना स्थलमा भएको मजाकको विषयलाई इस्यु बनाएर आफूलाई ज्यान मार्ने हिसाबले घरमा आक्रमण गरिएको दाबी गरेका छन् ।
उनले आइतबार राति मतगणना स्थलमा कुनै किसिमको विवाद नभएको दावी गर्दै चुनावी प्रचार प्रसारको क्रममा आफूले महतोका गलत क्रियाकलापमाथि सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीलाई इस्यू बनाएर बलबा टोलस्थित आफ्नो घरमै आएर परिवारका सदस्यलगायत छिमेकीहरुमाथी पनि आक्रमण गरिएको बताए ।
आइतबार राति आएका बलरामका बाउन्सरहरुले आफ्नो घरमा ढुंगामुढा गरेपछि बलवा टोलका व्यक्तिहरुले प्रतिकार गरेर उनीहरुलाई भगाएको मिश्रले बताए । सो प्रतिकारकै क्रममा छिमेकका तीन जनामाथी खुकुरीसमेत प्रहार गरिएको उनले बताए । खुकुरी प्रहारबाट बलवा टोलका स्थानीय राजेशकुमार राउत, पवन झा र गोपाल पाठक घाइते भएका छन् ।
आफ्नो घरमा आक्रमण भएपनि उल्टै प्रहरीले आफूलाई नियन्त्रणमा लिएर अन्याय गरेको मिश्रले गुनासो गरे । आफूमाथी अन्याय भएको भन्दै मिश्रले न्यायका लागि सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।
दुवै पक्षले एक अर्कालाई आराेप लगाउंदै घटनाकाे छानबीन गरि दाेषीलाई कारवाहीकाे माग गरेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !