जनकपुरधाम, वैशाख २० गते । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देशका अन्य पालिकासहित जनकपुरधाम उपमहानगरपालिकाका उम्मेदवारहरु पनि घरदैलो अभियानलाई तिव्रता दिएका छन ।
जनकपुरधाम उपमहानगरपालिका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को तर्फबाट नगरप्रमुख पदका उम्मेदवार मनोज चौधरी पनि आफ्ना घरदैलो अभियानलाई जोडतोडका साथ अघि पारेका छन ।
मंगलवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियामा जनतासँग प्रत्यक्ष कुराकानी गर्दै लोसपा नेपाल जनकपुरधामका नगर अध्यक्ष समेत रहेका चौधरीले जनकपुरधाममा व्याप्त रहेको लामखुट्टेको समस्या समाधानका लागि पहिलो कदम चाल्ने र यो समस्यालाई निर्मुल गरेरै छाडने प्रतिवद्धता जनाए ।
उनले नगरको प्रमुख सडकहरु सुधार गरिएपनि विभिन्न टोलहरुमा अहिले पनि हिलो नै हिलो रहेकोले सडक सुधार कार्यक्रमलाई नेतृत्व लिएको पहिलो चरणमै काम सुरु गर्ने बताए ।
नगरमा व्याप्त रहेको फोहोर व्यवस्थापनको समस्यालाई सुधार गर्नका लागि फोहोरबाट मोहर कमाउने अभियान अनुरुप मल तयार गरि व्यवस्थापन गर्ने बताउँदै चौधरीले उपमहानगरपालिकामा सेवाग्राहीलाई काम गराउन हुने कठिनाईलाई समाप्त गर्दै भ्रष्टाचारमुक्त नगरपालिका बनाउने तर्फ आफ्नो पहिलो पहल हुने उनले प्रतिवद्धता जनाए ।
घरदैलो कार्यक्रमको क्रममा स्थानीयवासीहरुले उम्मेदवार चौधरीलाई अबीरको टिका लगाउंदै विजयीको आग्रिम शुभकामना दिएका थिए । स्थानीय नगरवासीले जनकपुरधामको विकासका लागि आफ्ना अमूल्य मत दिई विजयी बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमममा लोसपा नेपाल धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयर पदकी उम्मेदवार रिता कुमारी मिश्र, लोसपाका युवा नेता संजय चौधरी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !