जनकपुरधाम, बैशाख ९ गते । नगरपालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्रीदेखि प्रदेश सांसदहरुले राजीनामा दिन शुरु गरेका छन ।
आसन्न स्थानीय तहको निर्वाचनमा एक प्रदेश सांसदले राजीनामा दिइसकेका छन भने एक मन्त्री र सांसद राजीनामा दिने तयारीमा छन । मेयर पदको उम्मेदवार बन्न प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन ।
रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन तात्कालिन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेश सभा सदस्य बनेका आजादले राजीनामा दिएका छन । शुक्रवार प्रदेश सभाको प्रशासन शाखा प्रमुख जानकी शरण साहलाई आफ्नो राजीनामा पत्र बुझाएका छन । आजादले भने पार्टीले उम्मेदवारी दिनैपर्छ दबाव दिएको कारण आफूले कार्यकाल छदैं राजीनामा दिएको हुँ, उम्मेदवारीपछि निर्वाचनको तयारीमा लाग्नेछु ।

यता प्रदेश सरकारका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र प्रदेश सभा सदस्य परमेश्वर साह समेतले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारीमा रहेको छ । मन्त्री यादवले नेकपा एकीकृत समाजवादीको तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उनको एकल नाम सिफारिस भएपछि चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने प्रक्रियामा रहेको बताए ।
उनले पनि पार्टीको दबाव र मतदाताको चाहना अनुरुप आफूले मेयर पदमा चुनाव लड्न बाध्य भएर राजीनामा दिन लागेको हुँ प्रक्रिया बुझिरहेको छु आज नभए आइतवारसम्म राजीनामा दिनेछु भने । सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार गर्न लागेका छन । मेयर समाजवादीलाई उपमेयर माओवादीलाई दिने आन्तरिक सहमति रहेको बताइएको छ ।
मन्त्री यादव २०७४ सालको नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि उनी माधव नेपाल नेतृत्वको समाजवादीमा गएका थिए । गत मंसिर ५ गते मधेस प्रदेश सरकारको कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी पार्टीले उनलाई दिएको थियो ।
यसैबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव लड्न प्रदेश सभा सदस्य परमेश्वर साहले समेत राजीनामा दिन लागेका छन । उनले पार्टीको निर्देशन र कार्यकर्ता तथा मतदाताको स्नेहमा आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिन लागेको बताए ।
लोसपाबाट उपमहानगरपालिकाका लागि प्रदेश सभा सदस्य साहसहित अमर पजियार, संजय चौधरी, मनोज चौधरी र जानकीराम साहको मेयर पदमा नगरबाट सिफारिस भएको थियो । जानकीराम साह एमालेमा प्रवेश गरिसकेपछि अन्य आकांक्षीहरु पनि टिकटका लागि हानाथाप गरेपनि केन्द्रिय समितिले साहलाई नै उम्मेदवार बनाउने तयारीमा छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !