जनकपुरधाम । ज्यान मार्ने प्रयास भएपनि जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गर्न नमानेको आरोप लगाइएको छ ।
विदेह नगरपालिका ९ ईटहर्वाका विन्देश्वर सिंहले आफूलाई ज्यानै मार्ने गरी कुटपिट गरिएपनि जिल्ला प्रहरी कार्यालय धनुषाले विपक्षीसँग मिलेर मुद्दा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न नमानेको आरोप एक पत्रकार सम्मेलन आयोजना गरी लगाए ।
उनले भने आफ्नो जग्गा स्थानीय केही व्यक्तिले कब्जा गर्न खोज्ने प्रयास गर्दा रोक्न जाँदा आफूमाथि संघातिक आक्रमण गरेको र ती व्यक्तिहरुलाई मेयर दासले संरक्षण गर्दै आएको छ । मेयरकै कारण प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनले आरोप लगाए । सिंहले स्थानीय शत्रुध्न यादव, मिथिलेश यादव, उपेन्द्र यादव, उत्तिमलाल यादव र दिनेश यादव सहित नचिनेका ५/७ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्न प्रहरीलाई भन्दै आएका छन ।

स्थानीय एक पोखरी र त्यसका डिलमा मन्दिर भएको विवादमा फागुन ७ गतेका दिन दुई पक्षबीच झडप हुँदा एक पक्षका विन्देश्वर सिंह गम्भीर घाइते भएको थियो । कुटपिटबाट सिंहको टाउको फुटाएको छ भने तीन/चार वटा घाउखत देखिएको छ । घाइतेपछि दुवै पक्षबीच सहमति भएपनि चित नबुझेपछि सिंह पक्षधरले ज्यान मार्ने उद्योग मुद्दा उद्योग दर्ता गर्न प्रहरीलाई दबाव दिदै आएको प्रहरीले जनाएको छ ।
पटक पटक सहमति, चित नबुझेपछि मुद्दा
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले भने घटनाको प्रकृति र अस्पतालको रिपोर्ट अनुसार घाउखत देखिएकोले घाउखतको मुद्दा दर्ता हुनुपर्ने पर्ने हो, तर तिनीहरुले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भन्दै आएको कानून बमोजिम नमिल्ने भएको हुनाले हालसम्म दर्ता नगरेको हो । घाउखत सम्बन्धी निवेदन लिएर आएमा जिप्रकाले दर्ता जुनसुकै बेला पनि दर्ता गर्न तयार छ ।
घटना बारे जानकारी दिदैं प्रवक्ता वस्नेतले भने यो विवाद आजको होइन वर्षौदेखि चल्दै आएको पटक पटक दुवै पक्षबीच सहमति भएको र अदालतमा मुद्दा समेत चलिरहेको छ । कुटपिट घटनाको अघि र दुई÷तीन दिनपछि समेत दुवै पक्षबीच सहमति भएको थियो । सिंह पक्षधरले सहमति गरेर घर गयो चित नबुझेपछि चार/पांच दिनपछि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न निवेदन लिएर आएको थियो । त्यसपछि हामीले घाउखतको निवेदन लिएर आउन भन्दै आएका छौं तर तिनीहरु ज्यान मार्ने उद्योगको मुद्दा दर्ता दबाव दिइरहेका छन ।
उनले भने अनुसन्धानको क्रममा यो विवाद संघीयता अन्तर्गत पालिका गठन भएदेखि हुँदै आइरहेको देखिएको छ । साबिकदेखि सार्वजनिक जग्गामा रहेको ती पोखरी र त्यसको डिल सिंह परिवारले आफ्नो पुर्वजको रहेको भनी उपभोग गर्दै आएको थियो । स्थानीय तह गठन भएपछि नगरपालिकाले सो पोखरीलाई सार्वजनिक कायम गरी आफ्नो मातहतमा लिएर ठेक्का पट्टा लगाउन थाल्यो ।
पोखरीको डिलमा नगरपालिकाको सहयोगमा स्थानीय केही व्यक्तिले एक मन्दिर निर्माण गरिरहेका छन । ती मन्दिर सिंह परिवारले भत्काउन खोज्दा अदालतले मन्दिर नभत्काउन अन्तरिम आदेश समेत जारी गरिसकेको छ । तर सिंह परिवारले मन्दिरको निर्माण कार्य रोक्न खोज्दा पटक पटक उपभोक्ता समितिका व्यक्ति सहित स्थानीयसंग विवाद हुँदै आएको छ । सोही क्रममा फागुन ७ गतेका दिन कुटपिट पनि भएको हो ।
स्थानीयका अनुसार ती पोखरी साबिकदेखि सार्वजनिक नै छ, त्यसमा सिंह परिवार मात्रै पुरै गाउँ नै उपभोग गर्दै आएका थिए । केही दशक अघि सिंह परिवारले सो पोखरी आफ्नो पुर्वजको रहेको भन्दै त्यसको डिलमा संरचना निर्माण गरी उपभोग गर्न थालेका हुन । तर सिंह परिवारले २०२५÷२६ सालको सर्भे नापी अनुसार सो पोखरीको जग्गा आफ्ना हजुर बुवा बच्चा सिंहको नाममा कायम भएको र तिनीहरुले आफ्ना उपभोगका लागि पोखरी खनाएको दाबी गर्दै आएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !