जनकपुरधाम, चैत १४ गते । मधेश प्रदेशमा दुई वर्ष लामो समयावधि पश्चात “प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मत पारित भएको छ ।
सोमबार बसेको मधेस प्रदेश सभाको आठौं अधिवेशनको १३ औँ बैठकबाट सो विधेयक सर्वसम्मतले पारित भएको हो । यो विधेयक पारित भएसँगै मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ ।
दुई वर्ष अघि २०७४ साल साउन महिनामै प्रदेश सभामा सो विधेयक दर्ता भएको थियो भने पछिल्लो पटक प्रदेश सरकारका तात्कालिन अर्थमन्त्री विजयकुमार यादवले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
पटक पटक स्थगित भएर पुनः सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वनमन्त्रीका नाममा रुलिङ गरेका थिए ।
पछिल्लो पटक शनिवारको बैठकमा प्रदेशका सरकारका मन्त्रीहरुकै बैठक पटक पटक स्थगित हुँदै आएकोले प्रदेश सभा विघटनको मांग उठेपछि सभामुख सरोजकुमार यादवले रूलिंग गरेका थिए ।
सो रुलिङ्गपछि सोमवारको बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जबाब दिएका थिए । प्रदेश सभाको आगामी बैठक चैत १६ गते बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !