जनकपुरधाम : तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार जनकपुरधाममा पार्टीद्वारा आयोजित अन्तरक्रियामा पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंहले संयुक्त रुपमा सो १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन ।
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने घोषणा पत्रमा प्रतिबद्धता जनाइएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको भन्दै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने कुरामा जोड दिएका छन ।
त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागीदारी, मधेस विकासको निमित्त दिर्घकालिन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरु घोषणापत्रमा समावेश गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निमित्त तयार रहन नेता तथा कार्यकर्ता निर्देशन दिए । उनले भने अहिले तमलोपालाई चुनावमा भाग लिनसक्ने बाटो मात्र खुलेको बताउंदै दलीय भागवण्डा, भ्रष्टाचार, जातीवाद, उम्मेदवार खरिद बिक्री आदिका कारणले दृष्टि, सीप, अभिव्यक्ति, सोंच, प्रतिवद्धता भएकाहरु अगाडि आउन र सहर तथा गाउँको विकासमा योगदान दिन आह्वान गरे ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. सिंहले तराई मधेस लोकतान्त्रिक पार्टी निकट भविष्यमै देशलाई राजनीतिक विकल्प दिने दावी गरे । उनले लोसपा, जसपा लगायतका पार्टीहरु चुनावका लागि मात्र संविधान संशोधनको कुराहरु गरेको जिकिर गर्दै मधेस मुद्दाको सवालमा तमलोपा निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाए । सो अन्तरक्रिया कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका पार्टीका जिल्ला अध्यक्षहरु तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !