जनकपुरधाम । पर्साको वीरगञ्ज स्थित एक कुखुरा फर्ममा बर्डफ्लू संक्रमण देखा परेको छ ।
वीरगञ्ज महानगरपालिका १५ भेडीयाही स्थित एक कुखुरा फर्मको कुखुराहरुमा ठूलो संख्यामा बर्डफ्लू देखा परेको पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताएका छन ।
स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको उक्त कुखुरा फर्ममा रहेका करीब १९ सय कुखुरा मरेपछि चेकजाँच गर्दा बर्डफ्लू संक्रमण फेला परेको हो । अत्यधिक संख्यामा कुखुराहरुमा बर्डफ्लू देखा परेपछि फर्ममा रहेका अन्य कुखुरा र बस्तुहरुलाई समेत नष्ट गरी माटो मुनि पुरिएको प्रवक्ता खनालले बताए ।
जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएका टोलीले फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली कैरेट र बर्ड फ्लूका कारण मरेका १९ सय वटा कुखुरा खाल्डोमा पुरेर फर्म सिल गरिएको जनाइएको छ । सो घटना पश्चात अन्य कुखुरा फर्महरुको पनि अनुगमन र परिक्षण गर्ने कार्य तिव्र रुपमा अघि बढाइएको डाक्टर यादवले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !