वीरगञ्ज । नेपाली कांग्रेस पर्साको नेतृत्वमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री प्यानल विजयी भएको छ ।
बिहीवार अबेर राति सम्पन्न मतगणनाबाट जिल्ला समन्वय समितिका पुर्व अध्यक्ष समेत रहेका जनार्दन सिंह क्षेत्री निवर्तमान जिल्ला सचिव श्याम प्रसाद पटेललाई हराउंदै ४ सय ६५ मतको अन्तरले सभापतिमा विजयी भएको हो ।
सिंहले १ हजार १ सय १० मत ल्याएका थिए भने पटेलले मात्र ६ सय ४५ मत ल्याएका छन् । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।
सिंह प्यानललाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी सहितका नेताले सहयोग गरेको थियो भने इतर पक्षका पटेल निवर्तमान जिल्ला अध्यक्ष अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको साथ पाएको थियो ।
क्षेत्रीले अर्का सभापतिका उम्मेदवार रामनारायण कुर्मीलाई सहमतिमा ल्याई उप–सभापतिमा लडाएका थिए । कुर्मीपनि क्षेत्रीको प्यानलबाट उम्मेदवार भएका छन । सिंह यसअघि १३ औँ जिल्ला अधिवेशनमा निवर्तमान सभापति अजय द्विवेदीसँग पराजित भएका थिए ।
त्यस्तै उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । सचिवमा इम्तियाज आलम, सह–सचिवमा नविन सिंह विजयी भएका छन् । निर्वाचनमा ६७ पदका लागि १ हजार ८ सय ३० जना मतदातामध्ये १ हजार ७ सय ७९ जनाले मतदान गरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !