जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी एमाले धनुषाको जनकपुरधाम उपमहानगरपालिका नगरकमिटीमा विवाद उत्पन्न भएको छ । उपमहानगरपालिकामा समानान्तर कमिटी गठन गरिएको छ ।
एक समुहका नेतृत्वकर्ता भ्रष्टाचारका आराेपी हुन भने अर्का समुहका नेतृत्वकर्ता ठेकेदार एवं व्यवसायी हुन । केन्द्रिय सदस्य यदुवंश झा र सचिव रघुवीर महासेठका समूहले छुट्टाछुट्टै अधिवेशन गरी समानान्तर कमिटी गठन गरेका हुन । दुवैले आफूलाई अधिकारिक रहेको दाबी गरिरहेका छन ।
झा समुहबाट शुभनारायण मण्डल र महासेठ समुहबाट सुरेन्द्र भण्डारी अध्यक्षतामा कमिटी गठन गरिएकाे हाे । मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का तात्कालिन वडाध्यक्ष हुन । उनी भ्रष्टाचार आरोपमा निलम्बन भइसकेका छन ।
हालसम्म उनी भ्रष्टाचार मुद्दा खेप्दै नै आएका हुन भने महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी पेशाबाट आबद्ध हुन । महासेठ काेटाका जिल्लास्थित अधिकांश ठेक्कापट्टा भण्डारीले आफ्ना निर्माण व्यवसाय संस्था मार्फत गर्दै आएकाे आराेप समेत लाग्दै आएकाे छ । उनी हाेटल व्यवसायी समेत हुन ।
सोमवार नेता झाको पक्षले जिल्ला अध्यक्ष राजकिशोर यादवको पहलमा अधिवेशन गरी मण्डलको अध्यक्षमा ८५ सदस्यीय र महासेठ पक्षधरले पनि मंगलवार भण्डारीको अध्यक्षतामा पनि ८५ सदस्यीय कमिटी गरेकाे हाे ।
झा पक्षधरको अधिवेशनमा केन्द्रिय सदस्य शीला यादव र महासेठ पक्षधरको अधिवेशनमा पोलिटब्यूरो सदस्य जुली महतोले प्रमुख आतिथ्य ग्रहण गरेपनि उपस्थिति चाहिं दुइटै अधिवेशनमा उही वडा कमिटीहरुहरुको उपस्थिति रहेको थियो ।
झा पक्षधर मण्डलको अध्यक्षतामा गठित नगर कमिटीको उपाध्यक्षमा महेन्द्र प्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सहसचिवमा जय प्रकाश साहलाई चयन गरिएको छ भने महासेठ पक्षधर भण्डारी अध्यक्षतामा रहेका कमिटीको उपाध्यक्षमा सन्तोष महतो, सचिवमा राजकुमार साह, उपसचिवद्वयमा रुका मिश्र र दिपनारायण साह रहेका छन ।
महासेठ समुहका कमिटी बारे मधेश प्रदेश सदस्य शिवशंकर साह हिराले आफ्नो पक्षधरको कमिटी अधिकारिक रहेको दाबी गरेका छन । उनले भने हाम्रो अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेकोले अधिकारिक हो, समानान्तर कमिटी गठन गर्ने समूहलाई पार्टीले कारवाही गर्नेछ ।
उता विवाद बारे जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टी भित्र गुट उपगुट हावी भएको कारण जिल्लाको विभिन्न स्थानीय तहमा विवाद र जनकपुरधाम उपमहानगरमा समानान्तर कमिटी नै गठन हुनु गलत रहेको बताए ।
उनले भने जिल्ला भित्रै देखिएका विभिन्न स्थानीय तहको विवाद समाधान भइसकेको र केहीमा समाधानको प्रक्रियामा रहेको छ भने जहाँसम्म जनकपुरधामको कुरा हो पार्टीले दुईटा कमिटी रहदैन, आफ्नाे समुहकाे कमिटी अधिकारिक रहेपनि असन्तुष्ट सहित दुवै पक्षलाई बसाएर छलफल गरी सहमतिमा लग्ने प्रयास गर्नेछौं ।
अध्यक्ष यादवले जिल्लाकै प्रदेश इन्चार्ज र केन्द्रिय सचिव रहेको ठाउँमा व्यक्तिगत स्वार्थका कारण यस्तो विवाद हुनु दुर्भाग्य हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !