काठमाडाै । राष्ट्रिय मानव अधिकार आयोगले डेढ दशक पुरानो गौर नरसंहार घटना दोहोर्याउने अभिव्यक्ति दिएकी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग स्पष्टीकरण लिएको छ।
मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहोर्याउन निर्देशन दिएका छन्।
स्पष्टीकरणमा पुगेकी मन्त्री यादवले आफ्नो अभिव्यक्ति असन्तुलित र अनियन्त्रित भएको स्विकार्दै भविष्यमा त्यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता जनाएकी थिइन्। यद्यपि, आफ्नो भनाइ कसैप्रति लक्षित नभएको उनले दाबी गर्दै भनिन उत्पन्न अवस्थाले बाेल्दा खेरी गल्ती हुन गएकाे हाे आगामी दिनमा आफ्नाे पदीय मर्यादाकाे ख्याल राख्नेछु ।

“अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिंदा मानव अधिकारको मूल्य-मान्यतालाई आत्मसात् गरी सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैन खलबलिने खालका अभिव्यक्ति भविष्यमा नदिन आयोगले मन्त्री यादवलाई सचेत गराइएकाे, आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गएकाे माघ ५ गतेका दिन रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन् । २०६३ चैतमा मन्त्री यादवकै पार्टीको आक्रमणमा माओवादी समर्थित २८ जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कुनै कारबाही नगरिरहेका वेला मानव अधिकार आयोगले मन्त्री यादवसँग स्पष्टीकरण लिएको हो ।
मन्त्री यादवको हिंसालाई दुरुत्साहन दिने अभिव्यक्तिको विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विरोध गर्दै आएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !