जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक विकासमा निजी तथा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले तीनवटै तहका सरकारले यसको समृद्धिका लागि जोड दिनुपर्ने बताएका छन ।
बिहीवार धनुषाको लक्ष्मिनियामा निर्मित सेन्ट्रल हस्पीटलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले शिक्षा र स्वास्थ्यमा निजी क्षेत्र र गरीब विपन्न वर्गको अर्थोपार्जनका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै तीनवटै तहका सरकारले ती संस्थाहरुको विकास र समृद्धिमा जोड दिनुपर्ने भने ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले उपचारको अभावमा कसैको मृत्यु हुन नपरोस भन्ने उद्देश्यका साथ आफूले स्वास्थ्य मन्त्री रहेको बेला नयाँ स्वास्थ्य नीति ल्याएपछि प्रत्येक स्थानीय तहमा १५ शैयाको वडास्तरीय स्वास्थ्य संस्था संचालनमा आएकोमा खुशी लागेको बताए ।
उनले विगतमा आफुले सोही स्वास्थ्य नीति अनुरुप नेपालमा स्वास्थ्य विमा कार्यक्रम समेत लागु गराए तर पुर्ण कार्यान्वयन हुन नसकेकोमा दुख लागेको भन्दै ती स्वास्थ्य बीमा कार्यान्वयनका लागि स्थानीय प्रदेश र संघ तीन वटै तहका सरकारले ठोस कदम चाल्नुपर्ने आग्रह गरे ।
अध्यक्ष यादवले मधेश प्रदेशमा अझै पनि गुणस्तरिय शिक्षा र स्वास्थ्योपचारको आभाव रहेको भन्दै सरकार मातहतमा रहेका संस्थाहरुलाई सबैको पहुँच हुने गरी सर्वसुलभ बनाउन पहल गर्नुपर्ने र निजी क्षेत्रका संस्थालाई प्रोत्साहन गर्न मांग गरे ।
सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।
अत्याधुनिक उपकरण सहित एक सय शैयाकाे अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।
यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।
अस्पताल संचालक समितीका अध्यक्ष विजय कुमार झाको अध्यक्षतामा सो कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्र यादव, लक्ष्मिनियाँ गाँउपालिकाका अध्यक्ष बिन्देश्वर यादव लगायतका वक्ताहरुले पनि स्वास्थ्य र शिक्षाको गुणस्तरीयता बढाउने कुरामा जोड दिएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !