जनकपुरधाम । मधेश प्रदेशमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको विरोध प्रदर्शन र प्रहरीद्वारा आश्रुग्यास तथा हवाई फायर सहितका तनावका बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले पुर्व घोषित कार्यक्रम अनुसार निर्वाचनको विरोध प्रदर्शनले गर्दा कडा सुरक्षाका बीच जनकपुरधाममा निर्वाचन सम्पन्न भएको हो ।
विरोध प्रदर्शनले कडा सुरक्षाका बीच भएको मतदानमा ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ जनाले मात्र मतदान गरेका छन । दुई जना प्रदेश सभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधि सहित ६ जनाले मतदान गर्न नसकेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन ।
मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका छन् । मधेश प्रदेशमा २ पदका लागि मतदान भएको हो । महिला र अन्य तर्फ मतदान भएको हो । अब साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान नजिक विरोध प्रदर्शन गर्दा प्रहरीसंग झडप समेत भएको थियो, सो क्रममा प्रहरीले पांच राउण्ड आश्रुग्यास र लाठी चार्ज गरेको थियो । मतदान स्थलबाट जनमत पार्टीका कार्यकर्ताहरु लखेटिएपछि पिराडी चौकमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी करीब चार घण्टासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहरो झडप समेत भएको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले मूल बाटोमै प्रदर्शन गरिरहेको कारण प्रहरीले स्कटिंग गरी मतदाताहरुलाई मतदान स्थलसम्म पुरयाउने र पठाएको थियो । झडपको क्रममा प्रहरीले एक दर्जनभन्दा बढी राउण्ड हवाई फायर र आश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीहरुले सातवटा मतदाताको सरकारी नम्बर प्लेडको गाडीमा तोडफोड गरेको छ भने प्रदर्शनकारीको ढुंगामुढा लागेर ४ जना प्रहरी , तीन जना जनप्रतिनिधि र एक चिकित्सक सहित ८ जना घाइते र ६ जना प्रदर्शनकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरे जानकारी दिएका छन ।

जनमत पार्टीका कार्यकर्ताहरुको प्रदर्शनको क्रममा एक चिकित्सक समेत घाइते भएको छ । बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिस साह माथी पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आक्रमण गरेका थिए । आक्रमणमा परि मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी पुर्ण रुपमा क्षतिग्रस्त घाइते भएका डा. साहको मुखमा ८ वटा टका लागेको प्रहरी उपरिक्षक रजौरेले बताए ।
त्यस्तै प्रदर्शनकारीहरुले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेको छ । प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरेका छन् । सोही क्रममा प्रमुख प्रसाईलाई चोट पटक समेत लागेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !