काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने मांग गरेका छन् ।
सामाजिक सन्जालमार्फत शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सहित विकल्प सुझाएका छन ।
जनता समाजवादी पार्टीकी नेतृ यादवले गत बुधबार एक कार्यक्रममा गाैर नरसंहार घटना पुनरावृति गर्ने सहित जनमत पार्टीका अध्यक्ष सीके राउतको ज्यान मार्ने धम्की दिएकी थिइन् ।
उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेला महामन्त्री शर्माले मन्त्री यादव पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएकाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
मन्त्री स्वयंले भुल स्वीकार गरेर् क्षमा याचना मागेकाले प्रधानमन्त्रीसँग पदमुक्त गर्ने विकल्प रहेको शर्माले सुझाएका छन् । महामन्त्री शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनैपर्ने बताए ।
यसभन्दा अगाडि मन्त्री पदमा रहेर गैरजिम्मेवार अभिव्यक्ति दिने धेरैले पद छाड्नु परेको इतिहास नेपाली राजनीतिमा रहेकाे समेत बताएका छन ।
उनले आफ्नाे स्टाट्समा ‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचार, तीन विकल्प !’ शीर्षकमा लेखेका छन्, ‘(१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना अथवा (२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा अथवा (३) पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त ।

महामन्त्री शर्माले तीन उपचारका पछिल्तिर तीन कारण भनेर थप स्पष्ट पारेका छन्, ‘(१) राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनै पर्दछ । (२) हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न (३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न ।
शर्मा केही दिनदेखि कोरोना सङ्क्रमित भएर उपचाररत छन् । मन्त्री यादवको अभिव्यक्तिलाई लिएर काङ्ग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यसअघि नै राजीनामा मागिसकेका छन् । राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने आवाज उठाएका छन् ।
जनता समाजवादी पार्टीबाट मन्त्री भएकी यादवलाई बुधबार रौतहटको गौरमा जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाउँदै कार्यक्रमस्थलमा अवरोध गरेका थिए । प्रहरीले रुट परिवर्तन गरी कार्यक्रमस्थल पु¥याएको थियो ।
पार्टीको कार्यक्रममा मन्त्री यादवले आक्रोशित हुँदै अर्काे गौरकाण्ड हुने चेतावनी दिएकी थिइन् । उनले भनेकी छन्, ‘म (डाक्टर साहेब) सिके राउतलाई यतैबाट भन्छु, तपाईंलाई घेराबन्दीमा पारि मारिनसहुन्छ , त्यसैले सतर्क भइहाल्नुस् ।’
उनले कलेजोमा तागत भएको, नशामा खुन भएको जस्ता शब्द प्रयोग गर्दै राउतलाई याद राख्न चेतावनी समेत दिएकी थिइन् । मन्त्री यादवले कार्यक्रममा बोलेको भिडियो बाहिरिएपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । उनलाई पद मुक्त गर्न प्रधानमन्त्रीले देउवालाई दबाब परेको छ ।
हुनत मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर भिडियो सार्वजनिक गरिएको तर्क गर्दै आएकी छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !