जनकपुरधाम । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन भएको छ ।
बिहीवार प्रदेशका राजधानी जनकपुरधाममा एक संयुक्त पत्रकार सम्मेलन आयोजना गरी आउंदो माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी गराइएको छ ।
यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ । गठबन्धन सहमति अनुसार अब अन्य समूहतर्फ एमालेका उसमान अन्सारी रहने छ भने महिला समूहतर्फ लोसपाकी रुपाकुमारी यादव रहने छिन ।
हुनत एमालेले पनि महिलातर्फ बीना साहलाई आफ्नो उम्मेदार बनाएको थियो । तर गठबन्धन पश्चात आपसी सहमति अनुसार साहको उम्मेदवारी आन्तरिक रुपमा फिर्ता भएको छ ।
सहमति पश्चात राष्ट्रियसभाका लागि लोसपाको तर्फबाट महिला कोटामा रुपाकुमारी यादवको उम्मेदवारी रह्ने जानकारी लोसपाको मधेश प्रदेशका सचेतक परमेश्वर साहले जानकारी दिए । त्यस्तै एमालेबाट अन्य समूहका उम्मेदवारी उस्मान अन्सारीको उम्मेदवारी मात्र रहने एमाले सचिव रघुवीर महासेठले बताए ।
सत्ता गठबन्धन नै मजबूत
यी दुई दलले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेपनि मधेश प्रदेशमा सत्ता गठबन्धन नै मजबुत स्थितिमा देखिएको छ । मधेश प्रदेशमा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका जनप्रतिनिधिहरु सत्ता गठबन्धनका बढी रहेकाले सत्ता गठबन्धन एमाले र लोसपाबिचको गठबन्धन भएपनि मजबुत स्थितिमा रहने देखिएको छ ।
सत्ता गठबन्धनबाट अन्य समूहमा जसपाको खालिद सिद्धकी र महिला कोटाबाट माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवार रहेका छन् ।
मधेश प्रदेशमा कुल ९ हजार ८ सय १६ मतभार छ । मधेश प्रदेशमा सबैभन्दा बढी जसपाको २ हजार ९ सय ८८, नेपाली कांग्रेसको २ हजार ३ सय ७०, लोसपाको १ हजार ५ सय ६०, माओवादी केन्द्रको १ हजार १ सय ९४, एमालेको ९ सय ४२ र नेकपा एकीकृत समाजवादीको ७ सय ५० मतभार रहेको छ । मधेश प्रदेशमा गठबन्धनको मतभार ७ हजार ३ सय २ रहेको छ । एमाले–लोसपाको मिलाएर कुल मतभार २ हजार ५ सय २ मात्रै रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !