जनकपुरधाम । करीब चार वर्षपछि प्रदेश २ ले स्थायी राजधानी र नाम पाएको छ । सोमवार गोप्य मतदानबाट प्रदेशले दुई तिहाईभन्दा बढी मतले स्थायी राजधानीको रुपमा जनकपुरधाम र प्रदेशको नाम मधेश प्रदेश पाएको छ ।
प्रदेश सभामा उपस्थित कुल ९९ प्रदेश सभा सदस्य रहेकोमा दुई तिहाई ७० मत चाहिएकोमा राजधानी जनकपुरधामले ७८ र प्रदेशको नाम मधेश प्रदेशमा ८० मत परेकोले दुई तिहाईभन्दा बढीले प्रस्ताव पारित भएको सभामुख सरोज यादवले घोषणा गरेको थियो ।
राजधानी पारितपछि प्रस्तावक प्रदेश सभा सदस्य परमेश्वर साहले भने जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको सहमतिमै प्रस्ताव गरिएको कारण दुई तिहाईभन्दा मतले पारित भएको र मधेश आन्दोलनका एजेण्डा नै मधेश प्रदेश भएको कारण सर्वसम्मति अनुसार नै दुई तिहाई भन्दा बढी मत पाएको बताए ।
पहिलो चरणमा स्थायी राजधानी र दोश्रो चरणमा प्रदेशको नामका लागि मतदान भएको थियो । राजधानी जनकपुरधामको विपक्षमा २१ र नाम मधेश प्रदेशको विपक्षमा १९ मत परेको थियो ।
उनले भने मधेश प्रदेश कायम हुनुमा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सपना र मधेश आन्दोलनको प्रमुख एजेण्डा हामीले पारित गराएर ऐतिहासिक जीत हासिल गरेका छौं ।
त्यस्तै अर्का प्रदेश सभा सदस्य दिलिप साहले पनि जनकपुरधाम राजधानी र नाम मधेश प्रदेशले मधेश आन्दोलन र १० वर्षे जनयुद्धबाट प्राप्त संघीयता अनुसार हासिल भएकोमा यो प्रदेशवासीका ठूलो खुशीको कुरा रहेको बताए ।
प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले संयुक्त रुपमा राजधानी जनकपुरधाम गरेको प्रस्ताव परमेश्वर साहले प्रस्तुत गरेको थियो भने नाम मधेश प्रदेश सत्तारुढ दल जसपाका शैलेन्द्र साह र माओवादी केन्द्रका भरत साहले प्रस्ताव गरेको थियो ।
प्रदेशको नामका लागि मधेश प्रदेश, मध्य मधेश, मिथिला भोजपुरा र जानकी प्रदेश सहित चारवटा प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रस्ताव मध्ये पहिलो प्रस्ताव मधेश प्रदेशमै मतदान शुरु भएको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टीको तर्फबाटठ शैलेन्द्र यादव र माओवादी केन्द्रका भरत साहले संयुक्त रुपमा प्रस्ताव पेश गरेको थियो भने प्रमुख प्रतिपक्षी लोसपाले समर्थन जनाएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !