जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानीकाे मांग गर्दै वीरगञ्जमा विराेध प्रदर्शन र जनकपुरधाममा ज्ञापन पत्र बुझाइएकाे छ ।
आज स्थायी राजधानी बारे प्रदेश सभामा छलफल हुनु अगावै जनकपुरधामलाई बनाउनु पर्ने माग गर्दै यहाँका व्यवसायीहरूले मुख्यमन्त्री लालबाबु राउत, सभामुद सहित विभिन्न मन्त्रीहरूलाई जनकपुरधाम उद्योग वाणिज्य संघले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन ।
स्थायी राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थालेकाे भन्दै प्रदेशको आर्थिक विकासमा टेवा पुरयाउन राजधानी तोकेर निकास दिन ज्ञापन पत्रमा मांग गरिएकाे छ ।
प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, प्रदेशको जनताको पहुँचसमेतको दृष्टिले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ कदम चाल्न आग्रह समेत गरिएकाे छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए । संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने उनले बताए ।

यसैबीच प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज ताेकिनु पर्ने माग गर्दै स्थानीय युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घर अगाडि धर्ना दिंदै प्रदर्शन गरेका छन् ।
वीरगञ्ज महानगरपालिका १३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहान लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेताहरुको अगुवाइमा स्थानीय युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।
उनीहरूले वीरगञ्जलाई राजधानी कायम गर, वीरगञ्जलाई बेच्ने मुख्यमन्त्री चाहिँदैन वीरगञ्जवासी जिन्दावाद लगायतका नारा समेत लगाएका थिए ।
मुख्यमन्त्री राउतले मुख्यमन्त्रीको पद जोगाउन वीरगञ्जलाई धोका दिएर जनकपुरधामलाई स्थायी राजधानी बनाउन लागि परेको प्रदर्शनमा सहभागी लोसपाका युवा नेता महादेव कुर्मीले बताए ।
प्रदेश राजधानीका लागि प्रदेश सभामा अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगञ्ज गरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ । प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन सोमबार मतदान हुनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !