जनकपुरधाम । आफ्ना पार्टीका कार्यकर्ताबाट मोटो रकम लिई भर्ना गरिएका नयाँ कर्मचारीलाई तालिम दिइरहेको कुरा मिडिया नआओस भन्ने उद्देश्यले आफ्ना कर्तुत लुकाउन नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले प्रहरीद्वारा हातपात गराएका छन ।
नियुक्त गरिएका पुराना कर्मचारीलाई हटाएर आफू समेत सरकार आबद्ध दलका कार्यकर्ताहरुबाट मोटो रकम लिई भर्ना गरेर गोप्य रुपमा तालिम गरिरहेका स्थल जनकपुरधाम स्थित मत्स्य विकास तालिम केन्द्रमा समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रहरी लगाएर महाप्रबन्धक झा हातपात गराएका हुन ।
समाचार संकलनका गएका पत्रकारहरुलाई तालिम केन्द्र स्थल मेनगेट अगाडि एकछिन पर्खिनुस भन्दा भन्दै करीब तीन घण्टासम्म कुराइयो । महाप्रबन्धक झाको ठाडो निर्देशनमा प्रहरीले पत्रकारहरुले न त कुनै बाइट खिच्न दियो, न त बाइटका लागि झा बाहिर आयो ।
घण्टौपछि कान्तिपूर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुरले के कति कारणले पत्रकारलाई रोकिएको भन्ने कुरा बुझ्न तालिम परिसरभित्र जान लाग्दा महाप्रबन्धक झाका एक सहयोगीले महाप्रबन्धकको निर्देशन छ भित्र नआउन दिनु भनेपछि प्रहरी निरीक्षक अवधेश यादव र प्रहरी सहायक निरीक्षक राजाराम यादवले हातपात गर्दै बाहिर निकालेका थिए ।
नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १ सय ५१ जना कर्मचारीलाई नवनियूक्त महाप्रबन्धक निरञ्जन झाले दलीय कार्यकर्ता भर्ना गर्न बिना कुनै जानकारी तिनीहरुलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम दिइरहेको कुराको विरोध भइरहेको भन्ने बिषयमा समाचार संकलन गर्न पुगेका पत्रकार ठाकुर बेला प्रहरीले हातपात गरेको हो ।
घटनापछि नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा घटनास्थल पुगेका पत्रकारहरूले बाइट लिएर नै जाने अडान राखेर प्रमुख जिल्ला अधिकरी र प्रहरी उपरिक्षकलाई जानकारी गराएपछि तिनीहरुको निर्देशनमा पत्रकारहरुलाई परिसर भित्र छिर्न दिइएको थियो । जिल्ला प्रशासनिक निकायको दबावपछि महाप्रबन्धक झाले संचारकर्मीहरुलाई परिसर भित्र समाचारका लागि आफ्नो प्रतिक्रिया दिएका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले भने पत्रकारलाई यदि समाचार प्रयोजनका लागि भित्र छिर्न नदिए आन्दोलनमा जाने चेतावनी दिएपछि जिल्लाका प्रशासनिक निकायले महाप्रबन्धक झामाथि दबाव बनाएको बताए । हुनत महाप्रबन्धककाे प्रतिक्रिया सके लगतै प्र.नि. यादवले पत्रकार ठाकुरसंग गलती स्वीकार गरि माफि मांगेपछि अवस्था साम्य बनेकाे थियाे ।
समाचार संकलनका लागि पत्रकारलाई किन भित्र छिर्न नदिने र प्रहरीबाट कुटाउने कतिको जायज हो भन्ने प्रश्नमा झाले भने आफूले कसैलाई कुटाएको छैन, जहाँसम्म भित्र छिर्न दिनुको कुरा हो, त्यो मेरो स्वविवेकको कुरा हो, कसलाई प्रवेश गर्न दिने वा कसलाई प्रवेश गर्न नदिने । थप्दै उनले भने दुनियाको कुनैपनि तालिममा पत्रकारलाई प्रवेश गर्न दिदैन, प्रवेश पनि किन गर्न दिनु तालिममा पत्रकारको के काम, जहाँसम्म नयाँ कर्मचारीको कुरा हो, कानुन सम्मत पुरानोलाई हटाएर नयाँ भर्ना गरिएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !