जनकपुरधाम । धनुषा प्रहरीले नेपाल रेल्वे कम्पनीको नियुक्तपत्र दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका ८ स्थित सीता प्यालेस होटल अगाडीबाट आइतवार राति महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली बनौली निवासी ३२ वर्षीय सागर कान्त चौधरीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन ।
चौधरीले आफु लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको छ सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले पक्राउ गरेको प्रवक्ता बस्नेतले बताए ।

चौधरीको तलास गर्दा ज्याकेटको भित्रपट्टीको गोजीमा लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ती पेपर, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापरको नाउको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप समेत बरामद गरिएको उनले जनाएको छ ।
लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बांडेको आरोपित चौधरीले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई नियन्त्रणमा राखि धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !