जनकपुरधाम । नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–३ काे निर्वाचन अधिकृतलाई बन्धक बनाइएकाे आराेप गलत रहेकाे दाबी गरिएकाे छ ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारीले निर्वाचन अधिकृतलाई अपहरण गरि बलजफ्ती क्षेत्रिय पदाधिकारी तथा प्रतिनिधि चयन गरिएकाे भन्ने आराेप निराधार एवं गलत रहेकाे दावी गरेका छन् ।
आइतबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै तिवारीले महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रिय अधिवेशन विधिसम्मत तरिकाले सम्पन्न भएको दावी समेत गरेका हुन् ।
तिवारीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको दावी गर्दै केही व्यक्तिले भ्रम मात्र सिर्जना गरेको जिकिरसमेत गरे । तिवारीले भने,‘निर्वाचन अधिकृत धीरेन्द्र मण्डल स्वयंले सम्पूर्ण पदाधिकारीको प्रमाणपत्र वितरण गरेका थिए । यसमा धाँधलीको कुरा कहाँबाट आयो ?’
निर्वाचन अधिकृत मण्डललाई अर्को पक्षले नै पछि अपहरण गरेर वेपत्ता बनाएको र अहिले उनको मोवाईल स्वीच अफ हुनुका साथै भेटघाट पनि नभएको तिवारीले बताए ।
यता, महोत्तरी क्षेत्र नम्बर–३ मा अवैधानिक तरिकाले आफुलाइ अपहरण गरि प्रमाणपत्र लिएकोले त्यसलाइ रद्द गर्न माग गर्दै मतदान अधिकृत मण्डलले शनिबार राजीनामा दिएका थिए ।
उनकाे राजीनामापछि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिलाई वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरु रद्द गरेको छ । निर्वाचन सम्बन्धमा समितिको बैठकले यस्तो निर्णय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।
सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशनसमेत दिइएको छ ।
यबैबिच, तिवारीले चुनावभन्दा पनि क्षेत्रीय सभापतिमा राघवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउन नसकेपछि टोले गुण्डा परिचालन गरी अधिकृतलाई अपहरण गरेर बलजफ्ती गरेकाे आराेप नेपाली काँग्रेस महोत्तरीका सचिव शम्भुनारायण पाठकको रहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !