जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवको कडा आलोचना गर्दै प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरिएको छ ।
दुई दिनदेखि जारी सो बैठकमा उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई अपमानपूर्वक पदमुक्त गरिएको भन्दै कार्यकारिणी सदस्यहरूले राउतको राजीनामा मांग गरिएको कुरा बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।
नाम नबताउने शर्तमा उनले भने रायको पक्षमा बोल्दै पूर्व राजपा र पूर्व नयाँशक्तिका नेताहरुले प्रदेश सरकारमा मुख्यमन्त्री राउतले पार्टी पद्धतिलाई लत्याउंदै मन्त्री निकाल्ने र राख्ने चलखेल गर्दै आएपनि पार्टी अध्यक्ष मौन बस्नुले पार्टीको छविमा आघात पुग्ने भएकाले राजीनामाको मांग गर्दै अध्यक्ष यादव विरूद्ध खनिएका थिए ।
बैठक बारे जानकारी दिदै रायले पनि भने आफुलाई मन्त्री पदबाट पदमुक्तगर्दा एकलौटी रुपमा गर्न नहुने भनी सदस्यहरुले आलोचना गरेको थिए । पदमुक्त गरिएका रायले आफूलाई हटाउन पार्टीको कुनै निकायले निर्णय गर्नुपर्नेमा सोझै अपमानपूर्ण ढंगले बिनाकारण हटाउनु खेदजनक रहेको भनी आफुले कुरा राखेको बताए ।
बैठकमा डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले पार्टीको कुनै निकायमा छलफल नै नगरी मन्त्रीलाई हटाउनु तानाशाही प्रवृतिको पराकाष्ठा रहेको भन्दै पार्टीमा छलफल नै नगरी मनपरी गर्ने अधिकार मुख्यमन्त्रीले कहाँबाट पायो भनी अध्यक्ष यादवतर्फ संकेत गर्दै कडा आलोचना गरेकी थिइन । पूर्व नयाँशक्ति र पुर्व राजपाका नेताहरूले अख्तियारबाट भ्रष्टाचारी प्रमाणित भइरहेका मुख्यमन्त्रीलाई कारवाही गर्नुको सट्टा पार्टीभित्र कुनै छलफल नै नगरी अन्य मन्त्रीलाई हटाउनु गलत रहेको कुरा बैठकमा उठेको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भ्रष्टाचार भएको ठहर गरिसकेकोछ यस्तो अवस्थामा, मुख्यमन्त्री राउतले राजिनामा दिएन भने पार्टीको प्रतिष्ठा जानेछ भन्ने तर्फ बैठकमा नेतृत्ववर्गलाई सचेत गराएको थियो ।
मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा ल्याउने बाध्यकारी अवस्थामा मन्त्री रायलाई राजिनामा दिएर सहज बनाइदिन आग्रह गर्दा पनि नमानेपछि हटाउनु परेको कुरा राखेका थिए ।
बैठकमा कार्यकारिणी समितिमा १२ जनालाई थप्ने निर्णय सहित १६ जनालाई कार्यकारिणी समितिमा थप गर्नुपर्ने भएपनि हाललाई ४ जनाको स्थान रिक्त राखिने बैठकमा सहमति भएको नेता राजकिशोर यादवले बताए ।
यसका साथै पार्टी केन्द्रीय कार्यसमिति विधान र पद्धति अनुसार दुई अध्यक्षीय प्रणालीको कुरा समेत उठेको तर त्यस सम्बन्ध आज दिउंसो बस्ने बैठकमा निर्णय हुने कार्यकारिणी सदस्य एवं सामाजिक विकास मन्त्री नवलकिशोर यादवले जानकारी दिएका छन । बैठकमा पूर्व मन्त्री राजकिसोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज सुवेदी, गंगा श्रेष्ठ, अमृता अग्रहरी, गजाधर यादव लगायतले आ–आफ्ना धारणा व्यक्त राखेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !