जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले निजी अस्पतालहरुलाई व्यवस्थापन गर्न नसक्दा रामानन्द चोक स्थित तराई राजधानी हस्पीटल ज्यानमारा अस्पताल बन्दै गएको छ ।
दर्ता बिना संचालन सो अस्पतालमा चिकित्सकको लापरवाहीले पटक पटक गरी करीब आधा दर्जन बिरामीको मृत्यु भइसकेको छ । पछिल्लो पटक फेरी एक नवजात शिशुको चिकित्सककै लापरवाहीका कारण सो अस्पतालमा मृत्यु भएको छ ।
धनुषाको नगराइन नगरपालिका २ स्थित नगराइन बस्ने विजय मण्डलकी २५ वर्षीया पत्नी रोशनी मण्डलले जन्माएकी नवजात शिशुको मृत्यु भएको हो । पिडीत मण्डलले भने शुक्रबार राति ८ बजे सो अस्पतालमा आाफ्नो श्रीमतिले छोरालाई जन्म दिएकी थिइन् । चिकित्सकको लापरवाहीका कारण शिशुको जन्म भएको ८ घण्टापश्चात बिहान ४ बजे मृत्यु हुन गयो ।
जन्मेको केही समय पश्चात् शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै अस्पतालले एनआईसीयूमा भर्ना गर्छ एक नर्सले भने ‘राति ११ बजे नै आफ्नो बच्चा चिच्याउँदा किन यस्तो भएको हो भनेर डाक्टरको बारेमा सोधखोज गरें, तर रातभर चिकित्सक नै आएनन् नर्सको भरमा उपचार भइरहेको कारण मृत्यु हुन गएको पीडा मण्डलले सुनाए ।
यता, अस्पतालका व्यवस्थापक विकास कुमार सिंहले सो नवजात शिशुको उपचारमा अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरे । उनले भने,‘बच्चा जन्मिँदा स्वस्थ्य नै थियो, पछि अस्वस्थ हुन थालेपछि एनआईसीयूमा भर्ना गरिएको थियो । तर पनि बच्चालाई बचाउन सकिएन, अस्पतालले आफ्नो ठाउँमा सबैथोक पूरा गरेको छ ।’ यसअघि, गत असोज १३ गते पनि सो अस्पतालमा एक नवजात शिशुको जन्म भएको तेस्रो दिनमै चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।
सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहले जन्माएकी शिशुको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको थियो । सो शिशुलाई पनि एनआईसीयूमा भर्ना गरिएको भनिएको थियो । एनआईसीयू भनिएपनि सामान्य मोनिटरको भरमा उपचार गर्दा मृत्यु हुन गएको थियो । तर बिल चाहिं एनआईसीयूकै अस्पतालले बनाएको थियो । विवाद हुँदा उपचार खर्च अस्पतालले आपसी सम्झौता मिनाहा गरेको थियो ।
दलालको भरमा संचालन हुँदै आएको सो अस्पताल व्यवस्थापक प्रत्येक घटनामा पिडीत सँग उपचार खर्च मिनाहा र सामान्य क्षतिपूर्तिको दिने पिडीत सँगको आपसी सम्झौतामा जोगिंदै आएको छ ।
उपमहानगरपालिकाको लापरवाही
स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा कम्पनी रजिष्टारको कार्यालय र स्थानीय तह वा सम्बन्धित निकायमा दर्ता भई अनुमति लिएर मात्र संचालन गर्न पाउने प्रचलित कानूनमा व्यवस्था छ । तर सो अस्पतालले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएपनि २५ बेड भएको कारण स्थानीय तहमा दर्ता नै नगरी संचालनमा रहेको छ ।
पच्चिस शैयासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र पच्चिस शैयादेखि माथिका अस्पतालहरु सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ । सो अस्पतालको पुर्वाधार र प्रविधि लगायतका कुनैपनि मापदण्ड पुरा नै गरी संचालनमा रहेपनि सम्बन्धित निकाय जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाले चासो नलिएको कारण ज्यान गुमाउनेको संख्या बढदै गएको हो ।
तराई राजधानी मात्र होइन यहाँ अधिकांश अस्पतालहरु दर्ता बिना नै बर्षौंदेखि सञ्चालनमा रहेका छन् । यस्ता अस्पतालहरुलाई अनुगमन र नियमन गर्न सक्ने उपमहानगरपालिकाको स्वास्थ्य शाखाले कानून बनाउन नसक्दा छाडापन बढदै गएको हो । कानूनको त कुरै छाडौ उपमहानगरपालिकामा कति निजी अस्पताल संचालनमा छन र मापदण्ड पुरा गरेको छ/छैन अभिलेख समेत राखेको छैन ।
पछिल्लो पटक उपमहानगरपाकिाको स्वास्थ्य शाखामा पत्रकारहरुको टोलीले कति संख्या र कुन कुन अस्पताल संचालनमा रहेको छ भन्ने सूचना मांग्न जाँदा अहिले अभिलेख तयारी हुन नसकेको भन्दै जानकारी दिएनन । अवैध अस्पताललाई नियमन, अनुगमन र व्यवस्थापन गर्न सकिने कानून बारे सम्बन्धित शाखाले हालसम्म आफूहरुले कुनै त्यस्तो कानून बनाउन नसकेको बताएका थिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित डा.भगवान सहनी र डा.गंगाप्रसाद यादवले सञ्चालन गरेको तराई राजधानी हस्पिटलले मात्र २२ शैयामा संचालनमा छन । त्यसमा न त पार्किंग, कुरुवा बस्ने, आईसीयू÷एनआईसीयू लगायतका कुनैपनि मापदण्ड पुरा गरेको छैन । डेढ वर्षदेखि संचालनमा रहेको सो अस्पतालमा सम्बन्धित निकायको लापरवाहीको कारण आएदिन बिरामीले ज्यान गुमाउंदै आएका छन । तर कारवाही त के अनुगमन समेत गरिएको छैन ।
अस्पताल प्रवेश गर्ने मुख्यद्वारको बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बर नलेखि त्यसलाई दर्ता नम्बर भनेर उल्लेख गर्दै बिरामी ठग्दै आएको पाइएको छ । यस अस्पतालले २०७७ असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई त्यसको दर्ता नम्बर २४३१५५ पाएको छ । तर, बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बरलाई बिरामी झुक्याउन दर्ता नम्बर भन्दै उल्लेख गरिएको छ ।
उजुरीको प्रतिक्षामा प्रशासन
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले गैरकानुनी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउने बताए । उनले भने, ‘अहिलेसम्म कहिँकतैबाट उजुरी वा गुनासो आएको छैन, अब हामी अनुगमन गरी त्यस्तालाई कानुनी दायरामा ल्याउँछौं ।’
‘बिनादर्ता कुनैपनि स्वास्थ्य संस्था सञ्चालन हुनु अवैध हो,’जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले भनिन्,‘अस्पताल हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । दर्ता भएकालाई मात्रै हामी चिन्छौं । दर्ता र नवीकरण नहुनेलाई हामी बन्द गर्ने प्रक्रिया सुरु गर्छौं ।’ यो समस्या समाधान गर्न आफू लागिरहेको एक महिनाअघि बताएपनि हालसम्म कुनै चासो लिएको छैन ।
हुनत अस्पतालका सञ्चालक डा.गंगाप्रसाद यादवले आफुहरु हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको एक वर्ष बितेपनि हालसम्म दर्ता हुन नसकेको स्वीकार्दै उनले तत्काल दर्ताको प्रक्रियामा जाने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !