जनकपुरधाम । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धि फिर्ता नलिएसम्म सरकार विरुद्ध देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघका महासचिव सरोज सिटौलाले ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि निगमले फिर्ता नलिए देशभरका सार्वजनिक यातायात ठप्प पार्छौं भन्दै चेतावनी दिए ।
उनले नेपालका राजनीतिक दलले आयल निगममाथि अनावश्यक चलखेल गरेको तर्कसमेत गरे । यता निगमले भने पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नहुने स्पष्ट पारे ।
सो कार्यक्रममा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताए । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै मूल्यवृद्धि फिर्ता नहुने उनले स्पष्ट पारे । मूल्यवृद्धि नगर्दा निगमलाई अर्बौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको उनले धारणा राखे ।
त्यस्तै नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले निगमले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताइन् । आफ्नो पार्टीका मन्त्रीहरूको कुर्सी खुस्किन्छ भने पनि आफूहरूलाई त्यो सरोकारको विषय नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने उनले भनिन ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गर्दै अहिले आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै चलाएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको ढाड सेकेकाले सो मूल्यवृद्धि तत्काल फिर्ता लिन मांग गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !