जनकपुरधाम । नेपालीहरुले काग र कुकुर पुजा गरी यमपञ्चकको दोश्रो दिन मनाउने परम्परा रहेको छ । तर मिथिलाञ्चल क्षेत्रमा हनुमान जयन्ती गरी मनाइदै आएको छ ।
सो अवसरमा मिथिलाञ्चल सहित जनकपुरधाममा समेत भगवान हनुमानको पुजा अराधना, भजन किर्तन सहित शोभा यात्रा गरी हनुमान जयन्ती मनाइएको छ । हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा हनुमान जयन्तीको पनि रौनकता देखिएको हो ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ । यस अघि परिषदले हनुमान जयन्तीको अवसरमा बाजागाजा सहित जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको थियो ।
भगवान हनुमान संगै भगवान शिव र जाम्बदको प्रतिकात्मक स्वरुपलाई रथमा बसाई सो शोभा यात्रा गरिएको थियो । भजन किर्तन सहित निकालिएको सो शोभा यात्रामा दर्जनौ गाडी र सयौं श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १० वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आई रहेका छन ।
शक्तिको प्रमुख श्रोत केन्द्र मानिएका भगवान हनुमानको आज जन्मदिन परेको हुनाले उनको पुजा आराधना हामी गर्ने गछौं र सोही अवसरमा आज परिषदद्वारा शोभा यात्रा निकालिएको हो । भगवान हनुमानसँग आस्था राख्ने हिन्दु धर्मावलम्बीहरु यो शोभा यात्रामा सहभागी भएको बताए ।
यता जनकपुरधामस्थित संकटमोचन मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागेको छ । भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ ।
हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ । त्यसैले मंगलबार र शनिबार हनुमान व्रत गर्नेहरुको संख्या पनि धेरै रहेको छ ।
चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने हो । तर वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती मनाइदै आएको हो ।
ग्रन्थमा भगवान हनुमानको शक्ति चर्चा

विभिन्न समयमा परिस्थितिको माग अनुरुप भगवानका अनेक रुपहरुको जन्म पृथ्वीमा भए सँगै धेरै उद्देश्य पूरा गर्ने प्रयोजन अनुसार भगबान शंकर हनुमान अवतार लिए । माता अञ्जनिको कठोर तपस्याबाट प्रसन्न भई वर माग्न भन्दा भगवान शंकरलाई नै आफ्नो पुत्रको रूपमा पाउने इच्छा जाहेर गरेपछि हनुमान रुपमा अवतरित भएका थिए ।
फरक फरक बार पूजा विधि र सामाग्री ले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिने जनविश्वास रहि आएको छ । हनुमानलाई श्रद्धालु भक्तजन सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, झण्डा अर्पण गर्दा नीकै प्रसन्न हुन्छन् । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागी तथा शनिदेव को कृपा प्राप्त गर्नका लागि पनि हनुमानको आराधना गर्नु नीकै फलदायी हुन्छ पण्डित दिगम्बर झा दिनमणिले बताए ।
अष्ट चिरञ्जिवि मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायणको सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्ने गरिन्छ । भगवान हनुमानलाई ११औँ रुद्रावतारको रुपमा लिइन्छ ।
रामायणमा भगवान हनुमानको बल बुद्धिको विशेष रुपमा चर्चा गरिएको पाइन्छ । सीताहरण पश्चात समुद्र लंघन गरेर उनले नै सीता समक्ष भगवान रामको सन्देश पुर्याएका थिए । त्यस्तै सोनाले बनेको रावणको लंका भगवान हनुमानले नै जलाएको वाल्मिकी रामायणमा उल्लेख छ ।
हनुमान पुजाको महत्व
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिसाची शक्तिबाट, राक्षसी शक्तिको प्रकोपबाट मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूको रहेको छ ।
हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन । विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नका लागि हनुमानको पूजा गरिन्छ ।
हनुमानलाई भक्तियोगका लागि महत्त्वपूर्ण मानिन्छ । उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्यता प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए । साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !