जनकपुरधाम । पुर्व राज्यमन्त्री संजय साहलाई जनकपुरधाम बम काण्डकाे याेजनाकार रहेकाे आराेपमा उच्च अदालत जनकपुरधामले ११ वर्षको कैदको सजाय सुनाएको छ ।
साेमवार न्यायधिश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै पूर्व राज्यमन्त्री साहलाई बम काण्डकाे मुख्य याेजनाकार रहेकाे ठहर गर्दै ज्यान मार्ने मुद्दामा ११ वर्षको कैद सजाय सुनाएको हो ।
यसअघि २०७५ सालमा जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । तर साहलाई चित नबुझेपछि उच्च दालतमा पुरावलाेकनका लागि रिट दायर गरेका थिए ।
साह हाल काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका थिए ।
उनी संविधान सभा सदस्य रहेकै बेला दिल्लीबाट पक्राउ परेकाे थियो । पहिलाे संविधान सभामा उनी विजय गच्छेदार नेतृत्वकाे फाेरम लाेकतान्त्रिकबाट भाैतिक पुर्वाधार विकास मन्त्री बनेका थिए ।
२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गरिएकाे थियाे । साे बमकाण्डमा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झा सहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।
को हुन् संजय साह ?
२०६४ साल चैत्र २८ गते भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ३ बाट संजय साह पहिलो पटक निर्वाचित भएका थिए ।
कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा उपेन्द्र यादव नेतृत्वकाे मधेशी जनअधिकार फाेरमबाट राजनीतिमा प्रवेश गरेका थिए । साेही वर्ष सभा सदस्यमा निर्वाचित पनि भएका थिए ।
साबिक लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन छवि बनाएर उक्लेका थिए ।
जनकपुरधाममा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए । विद्यर्थी जीवनबाटै ‘डन’को रुपमा परिचित उनलाई जनकपुरधाममा ‘संजय टकला’को नामले समेत चिनिन्छ ।
तत्कालिन मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साह १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए । महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए ।
त्यसैगरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ३ बाटै संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए । उनी तत्कालिन सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहि सकेका छन् । साहले दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई पराजित गरेका थिए ।
साह पहिलाे निर्वाचनमा १३ हजार ४ सय २२ मत ल्याएर भारी मत अन्तरले तत्कालीन एमाले नेता एवं ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पराजित गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !