जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न गरी जनकपुर बजारमा घुमाएको आरोपमा प्रहरीले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
घटना लगतै शुरुमा प्रहरीले १०/१५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि आफ्ना कार्यकर्ता सहकर्मीहरुलाई रिहाईको मांग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेकाहरुलाई समेत गरी यो समाचार लेख्दासम्म सिके राउतका ६२ जना कार्यकर्तालाई पक्राउ गरेका छन ।
पक्राउ परेकाहरुलाई कानून बमोजिम कारवाही गरिने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ । घटना पश्चात लोकपुकारसँग कुरा गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले एक राष्ट्र सेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुव्र्यवहार आपतिजनक, अमानीय र अपराधिक घटनको संज्ञा दिएका छन ।
राजनीति दलको आवरणमा कर्मचारीमाथि गरिएको अमानीय दुव्र्यवहार लोकतान्त्रिक चरित्र नभई अपराधिक र भूमिगत समूहको कार्य रहेको भन्दै प्रजिअ वास्तोलाले कर्मचारी मात्र होइन कुनैपनि व्यक्तिलाई यस्तो दुव्र्यवहार गर्नु कानून अपराध हो । घटनाको छानबीन गरी संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने कार्य शुरु भएको छ, तिनीहरुलाई कानून बमोजिम कारवाही हुने उनले बताए ।
प्रजिअ वास्तोलाले आजको घटनाले कुनै कार्यालयका कर्मचारीलाई नआतिन नडराउन आग्रह गर्दै तिनीहरुको सुरक्षाका प्रशासन प्रतिबद्ध रहेको प्रतिबद्धता समेत जनाएका छन ।
यसैबीच पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले समाजिक सञ्जाल फेसबूक मार्फत भोली शुक्रवार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ । पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको पुर्ण स्वरुप तिर जाने नेपाल पुलिस तथा गृहमन्त्रालयलाई चेतावनी समेत दिएको छ ।
बिहीवार दिउंसो खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न गरी हिलो दलेर नगर परिक्रमा गराएको थियो । नगर परिक्रमाकै क्रममा प्रहरीले प्रमुख कुशवाहालाई नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सुरक्षा हेतु बुझाएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !