जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडैबाट एक व्यक्तिलाई बोक्सी आरोपमा आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बोक्सी आरोपमा ४२ वर्षिया आफ्नै भाउजु शिलादेवी झालाई हथौरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले देवर संजय झालाई पक्राउ गरेको हो । पक्राउ परेका संजयलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतवार सार्वजनिक गरेको छ ।
हाल जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बस्दै आएका संजयले बिहीवार बिहान करीब ३ बजेको समयमा घरमा सुतिरहेका अवस्थामा शिलादेवीलाई हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए । के कति कारणले हत्या गरिएको संचारकर्मीहरुको जिज्ञासामा प्रहरी उपरिक्षक आचार्यले भने बोक्सी र आर्थिक लेनदेन दुईटै कारण अनुसन्धानमा देखिएको छ । तर वास्तविक के हो भन्ने कुरा थप अनुसन्धान हुँदेछ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार संजयले आफ्नो श्रीमति रिन्कु झाको गर्भ तुहाएको आशंकामा हत्या गरेको हो । प्रहरी उपरिक्षक आचार्यले भने शिलादेवीले दिएको केरा खाँदा श्रीमती रिंकु झाको गर्भ तुहिएको र पटक पटक बिरामी हुँदा ठिक नभएपछि भाउजु शिलादेवीले टुनामुना गरेको हुन सक्ने आशंकामा संजयले हत्या गरेको अनुसन्धानमा देखिएको हो ।
गएको असारमा विहे भएका संजय आफू जनकपुरधाम स्थित सोनापाडामा बस्दै आएका थिए भने श्रीमति रिन्कु गर्भवती भएपछि भाउजु शिलादेवी कहाँ नै राखेको थियो । पटक पटक बिरामी पर्दै आएका रिन्कुलाई उपचारबाट निको नहुँदा र सोही बिचमा गर्भ तुहिएपछि झाँक्री कहाँ लगेका थिए ।
झाँक्री कहाँ रिन्कुले भूत खेल्दै भनिन् म शिलादेवीको माहिलो छोरा कृष्णकुमा झा हुँ, शिलादेवीले आफ्नो श्रीमान लालकिशोर झा, आफूलाई बोक्सी गरी मारेको र रिन्कुको गर्भ तुहाई उनलाई पनि मार्न लागेको हो । झाँक्री कहाँ रिन्कुले भनेको कुरालाई सत्य मानेर आफ्नो परिवारको सुरक्षाका लागि अन्धविश्वासमा परेर हत्या गरेको हुन सक्ने आरोपितको बयानलाई उदृत गर्दै प्रहरी उपरिक्षक आचार्यले बताए ।
उनले प्रहरी अनुसन्धानबाट शिलादेवीलाई संजयले सापटी दिएको १२ लाख ३९ हजार रुपैया फिर्ता नगरेको निहुँमा समेत हत्या गरेको हुन सक्ने कारण देखिएको बताए । आरोपित संजयले बोक्सी आरोप र सापटी फिर्ता नगरेको कारण हत्या गरेको दुईटै कारण बताएको छ । तर वास्तविक के हो बारेमा हामी थप अनुसन्धान गर्दछौ पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक आचार्यले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !