जनकपुरधाम । अनुमति बिना आर्केष्ट्रा आयोजना गरी अश्लील गीतमा केटी नचाएको आरोपमा धनुषा प्रहरीले पांच जनालाई पक्राउ गरेको छ ।
हिजो अबेर राति १२ बजे जिल्लाको विदेह नगरपालिका ६ एकराहीमा आर्केष्ट्रा आयोजना गरी ठूलो साउण्डमा भोजपुरी भाषाको अश्लील गीतमा केटी नचाएको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
एकराहीका सानु मण्डलले कुनै निकायमा अनुमति नलिई राति सुत्ने बेलामा चर्को स्वरमा भोजपुरीको अश्लील गीत बजाएर दुख दिएको स्थानीयवासीको गुनासोमा स्थानीय गिद्धा प्रहरी चौकीका प्रहरी टोलीले बन्द गर्न सम्झाउंदा पनि अटेर गरेको कारण तिनीहरुलाई पक्राउ गरिएको जिप्रका धनुषाका प्रहरी उपरिक्षक जितेन्द्र बस्नेतले बताएका छन ।
पक्राउ पर्नेहरुमा विदेह नपा ७ का वर्ष २३ का श्याम पासवान, भारत उत्तरप्रदेश महराजगंज इटहर्वाका २१ वर्षिय अनुशव मिश्र, काजल सहनी, भारत बिहारका बेतिया जिल्ला अमोलिया सिंगरीका सुनिल पासवान, रिनादेवी पासवान रहेकी छिन ।
सो घटनामा मुख्य आरोपित भनिएका आर्केष्ट्रा संचालक विदेह नपा एकराहीका राम मनोहर अधिकारी, आयोजक स्थानीय सानु मण्डल फरार रहेको र उनीहरुको खोजतलाश जारी रहेको उनले बताए । पक्राउ परेका विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !