जनकपुरधाम, भदौ २९ गते । जनकपुरधाम स्थित जानकी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पीटलले बालबालिकाहरुको उपचारको विशेष व्यवस्था गरेको छ ।
पछिल्लो समय विश्वरभरि फैलिएको तेश्रो चरणको कोरोना महामारीको बालबालिकामा देखिएको प्रभाव र नेपालको तराईसंग जोडिएको भारतको बिहार र उत्तरप्रदेश राज्यमा बालबालिकाहरुमा भाइरल फिवरको प्रकोपलाई हेर्दै तराई भेगका सीमावर्ती क्षेत्रलाई दृष्टिगत गर्दै सो हस्पीटलले बालबालिकाहरुको उपचारका लागि विशेष उपचारको व्यवस्था गरेको हो ।
तराई क्षेत्रका बालबालिकामा देखिने प्रभाव र विभिन्न समस्या समाधानका लागि जानकी मेडिकल एण्ड टिचिंग हस्पिटलले बालबालिकाको उपचारका लागि विशेष ध्यान पुर्याउन लागेको अस्पतालका चिकित्सक बालरोग विशेषज्ञ डा. दिपकराज पौडेलले बताएका छन ।
सो हस्पिटललले त्यस्ता बिरामी बालबालिकाका लागि इमरजेन्सी र ओपिडी वार्डमा अलगै व्यवस्था गरेर उपचारको व्यवस्था मिलाइएको छ । गम्भीर अवस्था आएका बिरामी बालबालिकाहरुको लागि एनआईसीयू समेत व्यवस्था गरेको छ ।
अस्पतालमा अहिले कुपोषण, निमोनिया, टाइफाइड लगायतका रोगबाट पीडित बालबालिका बढी आउने गरेको उनले जानकारी दिए । कोरोना संक्रमणको त्रास रहेको समयमा त्यस्ता बालबालिकाका अभिभावकलाई उपचार पद्धतिको विषयमा सल्लाह दिएर घरमै स्वास्थोपचारका लागि पठाउने गरेको चिकित्सक पौडेलले बताए ।
जुन अभिभावकमा स्वास्थ्य सम्बन्धि ज्ञानको अभाव बढी देखिएको हुन्छ त्यस्ता अभिभावकको बच्चालाई अस्पतालमै उपचार गर्ने गरेको उनले बताए । यसका साथै गम्भिर प्रकृतिका बिरामी बालबालिकालाई अस्पतालमै अलगै व्यवस्था गरेर समेत उपचार गर्ने गरेको उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !