जनकपुरधाम । प्रदेश २ प्रदेश सभाको बैठक मन्त्रीहरुको दलीय आन्तरिक किचिलोका कारण अनिश्चित बन्दै गएको छ ।
गत असार २९ गतेदेखि करीब दुई महिनायता बजेट अधिवेशनका बसेको छठौ बैठक पश्चात प्रदेश सभाको बैठक बस्न सकेको छैन र कहिले बस्ने भन्ने कुनै टुंगो नभई अनिश्चित बनेको छ ।
सत्ता नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी, सत्तारुढ दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमाले, माओवादी केन्द्रको दलीय आन्तरिक किचिलोका कारण प्रदेश सभाको बैठक बस्न नसकेको सरोकारवालाहरुकै भन्छन ।
नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य शत्रुध्न महतोले सत्तारुढ दल र विपक्षी दलहरुमा पार्टीको लामो समयदेखि चल्दै आएको आन्तरिक किचिलोका कारण बैठक बस्न नसकेको बताउंछन ।
उनले भने प्रदेश सभाको बैठक प्रमुखतः सतारुढ दल जसपा, विपक्षी दलहरु एमाले र माओवादी समेतमा आन्तरिक किचिलोका कारण बैठक बस्न सकेन । तर अब चाँडै नै बैठक बस्ने छ बुझिएको छ । दलीय आन्तरिक किचिलो पनि दल विभाजनले समाप्त हुन गएको छ र दल विभाजनपछि एक महिनाभित्र सरकारले विश्वासको मत लिने कानून प्रावधान रहेको कारण सरकारले नचाहेपनि बैठक बसाउनै पर्छ ।
त्यस्तै नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य परमेश्वर साहले सरकार जनताप्रति उतरदायी नभएको कारण बैठक बसाउन नसकेको आरोप लगाए । उनले भने जनताका समस्या राख्ने ठाउँ नै प्रदेश सभा हो, यसबीचमा बाढी र कोरोना महामारी लगायतका जनताको धेरै समस्या भएपनि सांसदले आफ्ना क्षेत्रका जनताको कुरा राख्ने ठाउँ नै बन्द भएपछि कहाँ राख्ने हामी ठाउँ र कामविहिन बनेका छौं ।
यता सतारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले प्रदेश सभा बैठक लामो समयसम्म नबस्दा जिल्ला, निर्वाचन क्षेत्रको समस्या र अपराधबारे सांसदले आफ्ना कुरा राख्न नपाएको बताए ।
उनले पनि प्रदेश सांसद र सरकारका मन्त्री पार्टीको आन्तरिक विवादमा अल्झिदा प्रदेश सभा बैठक महिनौंसम्म नबस्ने अवस्था आएको कुशवाहाले बताए । उनका अनुसार सांसद र मन्त्री पार्टीकै विवादमा काठमाडौं धाएको कारण महिनौदेखि बैठक बस्न सकेको छैन ।
जसपा भित्र महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई सरकारबाट मुख्यमन्त्री लालबाबु राउतले हटाउंदा उत्पन्न भएको विवादले दल विभाजनसम्म कायम रहेको आन्तरिक किचिलो र एमालेभित्र ओली पक्ष र नेपाल पक्षबीचको आन्तरिक विवाद तथा कांग्रेसमा महाधिवेशनको कारणले सदस्यता विवादले गर्दा प्रदेश सभाको बैठक बस्न नसकेको हो ।
छठौ अधिवेशनको अन्तिम १५ औं बैठक विनियोजन विधेयक पारित भएसंगै सभामुख सरोजकुमार यादवले अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको घोषणा गरेदेखि दुई महिना बित्न लाग्दा पनि बैठक बस्न सकेको छैन ।
यता सरोकारवाला नै बैठक बारे अनभिज्ञ छन । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने बैठक के कति कारणले स्थगित रहेको छ त्यो आफूलाई थाहा छैन र कहिले बस्ने बारे आफू नै अनभिज्ञ छौ । उनले भने मन्त्रिपरिषदको आगामी बस्ने बैठकमा यस सम्बन्धमा कुरा राख्ने छौं ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले भने प्रदेश सभाको बैठक बसाउने अधिकार प्रदेश सरकारमा निहित छ । उनले भने अब सातौं अधिवेशनको समयमा पनि आइसकेको कारण मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश प्रमुखबाट नयाँ अधिवेशनको आह्वान गरेपछि बैठक बस्नेछ ।
प्रदेश सभाको बैठक बस्न नसक्दा विषयगत समितिका काम–कारबाही र १३ वटा विद्येयक प्रदेश सभामा अलपत्र छन । ४ वर्ष बित्न लाग्दा सरकारको कामकारवाही बारे सोधखोज गर्न सक्ने सार्वजनिक लेखा समिति समेत गठन हुन सकेको छैन भने प्रदेशको नाम र राजधानी समेत अनिर्णित बन्दै गएको छ । प्रदेश सभा बैठक बस्न नसक्दा प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति चयन हुन नसकेको हो ।
आफ्नो पार्टी छोडेको आरोप लगाउदै माओवादी केन्द्रले प्रदेश सांसद रामचन्द्र मण्डललाई कारबाही गरी निलम्बन गर्दा प्राकृतिक श्रोत तथा वातावरण समिति र नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेपछि कृषि तथा भूमि व्यवस्थापन समिति पनि सभापतिविहीन रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !