जनकपुरधाम । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीलाई प्रदेश २ मा दुई सांसदले साथ नदिंदा ठुलाे झटका लागेकाे छ ।
अन्तरविवादका बेला नेपालकाे कांध थापेका सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले दल सनाखतकाे बेला एमालेमै बस्ने निर्णय लिएका छन ।
समाजवादीले १३ सांसद आफ्नाे पक्षमा रहेकाे दाबी गरिरहेकाे बेला बिहीबार सनाखतका लागि जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा १० जना मात्र पुग्याे एक जना डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतकाे दिल्ली रहेकाे कारण त्यहीबाट सनाखत गरेका छन ।
शत्रुध्न महतोसहित गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रविन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले भने बिहीबार एकीकृत समाजवादी रोजेर सनाखत गरेका छन् ।
दुई सांसद किन आएन जिसामा समाजवादीका नेताहरूले माैसम खराबका कारण नआएकाे दाबी गरे । तर ती दुई सांसद वीरगञ्जमा आयोजित नेकपा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको पाइएको छ ।
बैठकमा सहभागी सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने प्रतिक्रिया दिएका छन् । ‘लामो समयदेखि यही पार्टीबाट राजनीति गर्दै आएका छौं,’ उनीहरुले भने, ‘अब पनि यहीं बसेर राजनीति गर्छौं ।’
अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएको भए पनि पार्टी फुटाउन साथ दिन नसकिने बताएका छन् । ‘हिजो अन्तरसंघर्ष थियो । त्यही भएर हामीले साथ दियौं,’ एमाले सांसद गुरुङले भनिन्, ‘पार्टी नै फोडेपछि साथ दिन्न सकिन्नँ । ३५ वर्षदेखि रगत पसिना बगाएर बनाएको पार्टी छाडेर अन्यत्र जान सकिन्न ।’
अर्का सांसद विश्वकर्मा पनि हिजो अन्तरसंघर्ष रहेको बेला साथ दिएको, तर पार्टी फुटाउँदा साथ दिन नसकिने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म एमालेमै बस्छु ।’
विश्वकर्मा र गुरुङ दुवै जना बाराका सांसद हुन् । विश्वकर्मा बाराको ४ क बाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक सांसद हुन् । गत चैतमा एमाले संसदीय दलका नेताबाट अध्यक्ष केपी शर्मा ओली निकट सत्यनारायण मण्डललाई हटाएर माधव पक्षीय शत्रुधन महतोलाई बनाउन दुवै सांसदले हस्ताक्षर गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !