जनकपुरधाम । जिल्ला वन कार्यालय बाराका तत्कालिन तीन जना अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दामा अख्तियारले आरोप पत्र दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रजातिका विरुवा खरीद तथा सदुपयोगमा भ्रष्टाचार गरेको भन्दै वन कार्यालय बाराका तत्कालिन वन अधिकृत भैरव प्रसाद घिमिरे, विन्देश्वर प्रसाद पटेल र दिनेश प्रसाद जयसवाल विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
अख्तियारले घिमिरे र पटेल विरुद्ध ४ लाख ९० हजार तथा जयसवाल विरुद्ध ३ लाख ९० हजार बिगो रकम मांग दाबी सहित आरोप पत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद घिमिरेले एक प्रेस विज्ञप्ति जारी गरी आ.व. २०७३/७४ मा जिल्ला वन कार्यालय, अधिकृतहरुले बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरिद गरी छर्ने समेतको कार्य गर्नको लागि लिएको पेश्की रकम हिनामिना गरेको उजुरी निवेदन परेको आधारमा अनुसन्धान गरिएको जनाएको छ ।
अनुसन्धानको क्रममा महंगो दरमा विरुवा खरिद गरी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएकोले आरोपित विरुद्ध सजाय र विगो सहितको मागदाबी लिई आयोगले अख्तियारको ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको विज्ञप्तिमा भनिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !