जनकपुरधाम, असार ७ गते । धनुषा र महोत्तरीमा एक/एक साताको लागि निषेधाज्ञा खुकुलो गरी बढाइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण संक्रमण दर कम भएको भन्दै दुवै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो ।
धनुषामा असार ७ गते राति १२ बजेदेखि लागू हुने गरी १४ गते राति १२ सम्मका लागि र महोत्तरी जिल्लामा असार १५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थपिएको छ ।

कोभिड व्यवस्थापन समितिको बसेको बैठकको सिफारिसको आधारमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर दुवै जिल्लामा निषेधाज्ञा लम्ब्याइएको हो ।
धनुषामा बिहान ६ बजेदेखि दिउंसो ३ बजेसम्म पसल संचालन गर्न इजाजत दिइएको छ कुरा प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलाले जनाएको छ । उनले भने अन्य व्यवस्था पछिल्लो निषेधाज्ञा जस्तै हो तर अत्यावश्यक सामाग्री सहितका व्यवसाय पसलका लागि ३ बजेसम्मका लागि खुकुलो बनाइएको हो ।
निषेधाज्ञामा निजी सवारी साधन संचालनमा छुट दिइएको छ । मंगलवारदेखि जोरविजोड प्रणालीमा मोटरसाइकल, सिटी रिक्सा लगायतका तीन पांग्रे यातायात संचालन हुने उनले बताए ।
त्यस्तै महोत्तरीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे निजी सवारी साधनलाई चलाउन दिने निर्णय भएको हो । त्यस्तै एम्बुलेन्स, शववाहन, खाद्यसामग्री, औषधी, निर्माण सामग्री, मल तथा विउ बिजन बोकेको सवारी साधन, सरकारी नम्बर प्लेट भएको गाडी, झण्डावाहक सवारी साधन, कुटनीतिक नियोग लगायतको सवारी साधनमा कुनै रोक लगाइएको छैन् ।
महोत्तरीमा पनि बिहान ६ बजेदेखि दिउंसो ३ बजेसम्म पसल उद्योग व्यवसाय संचालनका लागि निर्देशन दिइएको छ । स्थानीय प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, दुध÷डेरी, ग्याँस पसल, कृषिजन्य विक्री गर्ने पसल, हार्डवेयर पसल, पुस्तक पसल, कपडा पसल, सुनचाँदी, टेलिरिङ, भाँडा, भान्साजन्य, विद्युतिय सामग्री लगायतका अत्यावश्यक यस अवधिमा मात्र खोल्न पाइनेछ ।
व्युटी पार्लर, शैलुन, जिमखाना, शैक्षिक संस्था, ट्युसन सेन्टर, मदिराजन्य पसल, पार्टी प्यालेस, स्वीमिङ पुलभने अहिले सञ्चालन गर्न पाउने छैनन् । विवाह, व्रतबन्ध, न्वारन, मृत्यु संस्कार जस्ता सामाजिक कार्यको हकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी र भौतिक दुरी कायम गरी बढीमा १० जनामा सिमित भई मनाउन दिने निर्णय गरेको निमित्त प्रजिअ न्यौपानेले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !