जनकपुरधाम, असार १ गते । प्रदेश २ सरकारले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई खुशी पार्न कोभिड १९ महामारीका बेलामा अधिकांश रकम भौतिक पुर्वाधार विकासतर्फ विनियोजन गरिएको टिप्पणी गरिएको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश सरकारले कोभिड नियन्त्रण सहित स्वास्थ्यका अन्य शिर्षकमा भन्दा करीब चार गुणा बढी भौतिक पुर्वाधार विकास निर्माणतर्फ विनियोजन गरिएको छ ।
निती तथा कार्यक्रममा कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने भनिएपनि प्रदेश सरकारले भौतिक पुर्वाधार विकास निर्माणलाई ग्राहयता दिएकोमा सत्तारुढ र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले आलोचना गरेका छन ।
सत्तारुढ दल जनता समाजवादी पार्टी महन्थ ठाकुर समूहका प्रदेश सभा सदस्य परमेश्वर साहले आगामी आर्थिक वर्षको बजेट कोभिड महामारीका बेला स्वास्थ्यतर्फ केन्द्रित नभई सरकारमा सहभागी भएका कांग्रेसलाई खुश पार्न भौतिक पुर्वाधार विकास निर्माण तर्फलाई ग्राहयता दिई महत्वांकाक्षी बनाइएको भने ।
त्यस्तै सत्तारुढ दलका अर्का प्रदेश सभा सदस्य मनिष सुमनले हातीको देखाउने दाँत र खाने दाँत फरक जस्तै सत्ता साझेदारलाई खुश पार्न नीति तथा कार्यक्रमभन्दा फरक बजेट ल्याइएको टिप्पणी गरे । उनले भने नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई ग्राहयता दिइएको छ तर बजेटमा स्वास्थ्य क्षेत्रलाई बेवास्ता गर्दै सत्ता साझेदार कांग्रेसलाई खुश पार्न कार्यकर्ता पाल्ने गरी भ्रष्टाचारलाई निरन्तरता दिन नेतामुखी बजेट ल्याइएको हो ।
त्यस्तै प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता शत्रुध्न महतोले पनि चालु आर्थिक वर्षको भ्रष्टाचारमुखीकै निरन्तरता आगामी आर्थिक वर्षमा पनि देखिएको बताए । स्वास्थ्य क्षेत्रभन्दा बढी कमीशन भौतिक निर्माणतर्फ आउने भएकोले भौतिक पुर्वाधार विकास निर्माणलाई ग्राहयता दिइएको भनी टिप्पणी गरे ।
त्यस्तै प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले पनि आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट जनतामुखी नभई नेतामुखी रहेको टिप्पणी गरेका छन । उनले भने कोभिड बेला स्वास्थ्य क्षेत्रतर्फ केन्द्रित हुनुपर्ने बढी कमीशन आउने र कार्यकर्ता पाल्न भौतिक पुर्वाधार निर्माणलाई ग्राहयता दिइएको देखिएको हो ।
उनले पनि सरकारका नयाँ सहयात्री बनेका कांग्रेसका भौतिक पुर्वाधार मन्त्री रामसरोज यादवलाई खुश पार्न शिक्षा, कृषि, उद्योग लगायतका क्षेत्रलाई बेवास्ता गर्दै पुँजीगत तर्फको बजेट मध्ये करीब १८ प्रतिशत भौतिक पुर्वाधार विकास निर्माणतर्फ विनियोजन गरेको हो ।
प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि उपचार सामाग्री र स्वास्थ्य संस्थाका संरचना निर्माण गर्न ८१ करोड ३० लाख विनियोजन गरेको छ भने भौतिक पुर्वाधार विकास निर्माणतर्फ २ अर्ब ९८ करोड ३० लाख रुपैया विनियोजन गरिएको छ ।
बजेटमा स्वास्थ्य र भौतिक पुर्वाधार विकास निर्माण बाहेक शिक्षातर्फ भौतिक पुर्वाधार निर्माण तथा गुणस्तरीय शिक्षाका लागि ३७ करोड ५० लाख, सीप विकास तथा रोजगारीका लागि ५३ करोड ९० लाख, भाषा साहित्यका लागि १६ करोड, भूमि व्यवस्था, कृषि तथा पशुपालनका लागि ४४ करोड ५० लाख, उद्योग, पर्यटन, वन तथा वातारण संरक्षणका लागि १ अर्ब २२ करोड ७४ लाख र भौतिक पुर्वाधार विकासतर्फ २ अर्ब ९८ करोड २० लाख रुपैया छुटयाएको छ ।
अर्थमन्त्री विजय कुमार यादवले चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार कुल बजेटको ४६.२६ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत बजेट सार्वजनिक गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !